नरहरि निवासमा वीपीकाे साहित्य चर्चा

नरहरि निवासमा वीपीकाे साहित्य चर्चा


गत शनिवार नेपाली कांग्रेसका नेता नरहरि आचार्यको निवासमा ‘वीपीको साहित्य’ विषयमा छलफल भयो । कार्यक्रम प्रारम्भ गर्दै आचार्यले साहित्य भन्नाले कथा उपन्यास मात्र होइन विचारका हिसावले लेखिएका यावत चिजहरू हुन् भन्ने बताए ।

आचार्यले भने– ‘अझ यसलाई साहित्य भन्दा वाङ्मय भन्न सुहाउँछ । हामी ७-७ दिनमा विविध विषयमा चर्चा गरिरहेका छौं । यहाँ कहिले गणतन्त्र, धर्मनिरपेक्षताको बहस पनि भयो । हामीले लेख्ने मान्छेलाई बुझ्ने भनेको उसको रचनाकै आधारमा हो । वीपीले साहित्य मात्रै लेखिदिँदा उनलाई नभेटेका मानिसले पनि उनलाई बुझ्न सजिलो भएकोे छ । साहित्य हेरेपछि सबै दिग्दर्शन भइहाल्छ । अहिले वीपीको साहित्यको प्रभाव कस्तो छ ? वीपी कोइरालाले चार दशक लोकतान्त्रिक आन्दोलनको सशरीर नेतृत्व गरे । कांग्रेसको सभापति र प्रधानमन्त्री पनि भए । यतिले मात्रैै उनलाई हामीले मानेको हो कि केले हो ? अरू पनि सभापति प्रधानमन्त्री भएका छन् । अरूलाई नमानेर उनलाई मान्ने स्थिति कसरी आयो ?’

आचार्यले थपे– ‘नेपालमा लोकतान्त्रिक विचारको मात्र होइन, विचारधाराको तहमा पुगेर वीपीले योगदान गरेका छन् । नेपाली साहित्यमा वीपीको योगदान विशिष्ट रह्यो । वीपीले कथा, उपन्यास, जीवनी, डायरी, कविता सबैमा कलम चलाएका छन् । तर राजनीतिक दर्शन र विचारधारायुक्त लेखहरू थुप्रै लेखेका छन्, किताब छैन । म २५ वर्षको हुँदासम्म एउटा राजनीतिक गतिलो किताब लेखिदिए हुने नि भन्ने लागिरहेको थियो । वीपीको शेषपछि विभिन्न संग्रहहरू बाहिर आएका छन् । साहित्यभन्दा विचारधाराको संग्रह नै बढी भएको छ । उनी आफैले चाहिँ किन लेखेनन् ? त्यसैले वीपीको साहित्यलाई कसरी हेर्ने, कसरी अध्ययन गर्ने ? कसरी अध्ययन गर्दा उनलाई बुझिन्छ । कसरी अहिलेसम्म उनको ख्याति भइरहेको हो ?’

यसरी आचार्यले बहसमा सहभागीहरूलाई वीपीको साहित्यमाथि आफ्नो धारणा राख्न आमन्त्रण गरे ।

छलफलको क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले भने, ‘वीपीको कुरा गर्ने बित्तिकै राजनीति र साहित्य समानान्तर रूपमा आउँछ । हाम्रो उमेरकाले वीपीको साहित्य पढेर वीपीलाई चिनेको हो । साहित्य र राजनीतिलाई समान उचाइमा लैजाने यस्तो व्यक्तित्व संसारका अन्य नेताहरूलाई हेर्दा भेटिँदैन । मण्डेला त्यत्रो समय जेल परे, महात्मा गान्धीको पनि त्यत्रो नाम छ, हामीले जानेका, पढेका अरू अग्ला राजनीतिज्ञ छन्, जसको ख्याति उच्च छ तर लेखनको त्यति दख्खल देखिँदैन । वीपी जो १४ वर्षदेखि जेल परे, भारतीय स्वतन्त्रता संग्राममा जसले २० वर्ष योगदान गरे, जो आठ वर्ष राजाबाट थुनिए, जो फेरि ८ वर्ष प्रवासमा बसे, जसलाई ३५ वर्षमा नै घाँटीको क्यान्सर लाग्यो । त्यस्ता व्यक्तिले यति आफूलाई नेपाली राजनीतिको मियो बनाउनु र साहित्यिक क्षेत्रमा शिखर पुरुषका रूपमा स्थापित हुनु संसारकै दुर्लभ उदाहरण हो ।’

घिमिरेले भने, ‘वीपीका दोषी चस्मा, तीन घुम्ती, बाबु, आमा र छोरा, नरेन्द्र दाइ आदिमा अभूतपूर्व प्रयोग छ । सबै दृष्टिबाट पुरुष लेखकले नारीको मनोविश्लेषण गरेको छ, नारीका बारेमा यति राम्रो चित्रण गरेको छ, त्योचाहिँ वीपीले नेपाली राजनीतिमा जुन क्रान्तिकारिता प्रदर्शन गरे, त्यसैअनुरूपको क्रान्तिकारिता नेपाली साहित्यमा पनि प्रदर्शित भएको हो । उनको चन्द्रवदन कथाबाट सुरु भएको साहित्यिक यात्राले हरेक चरणमा नयाँ आयाम खडा गरेको छ । हिटलर र यहुदी, मोदी आइन, श्वेतभैरवी आदि सबै विशिष्ट छन् । वीपीको समग्र राजनीतिको एउटा ग्रन्थ पढ्न पाए हुने भन्ने लाग्छ । नरहरि दाइले नेपाली कांग्रेसको चार दशक छाप्न थालेपछि यो प्रारम्भ भयो । नेपाली कांग्रेसको पाठशाला पनि नरहरि दाइ हुन् ।’

घिमिरेले भने– ‘वीपीकोमा जाँदा देशविदेशका राजनीतिक कुराहरू आउँथे रे । गिरिजा बाबु पनि अनुभवका कुरा सुनाउँथे । अहिले नेताहरूकहाँ जाँदा एकले अर्कोको आलोचनाबाट सुरु हुन्छ । अपेक्षा गरेको कुरा आउँदैन । जब कि नेपालको राजनीति यहाँनेर उभिएको छ ! नेपाल कम्युनिष्ट पार्टीको उद्देश्य, रणनीति यो छ ! इण्डियाले यो गरिराखेको छ ! चाइनाले यो गरिराखेको छ ! दक्षिण एशियाको राजनीति यस्तो हुँदै छ ! हामीले खोजेको यो हो । यो कुरा नेताहरूबाट पाइदैन ।’

‘वीपीले समयलाई कहिल्यै खेर जान दिएनन् । जेलभित्र, प्रवास जहाँ भए पनि साहित्य लेखे । भेटेजति सबै पढे । प्रज्ञाको त्यत्रो भण्डार भएको व्यक्ति वीपी आफूलाई अपुरो, अधुरो भन्थे, भनेपछि हामीले त बाह्रखरी पनि छिचेलेका छैनौं । समयको अधिकतम उपयोग वीपी कोइरालाले गरे । वीपीले राष्ट्रियताको विषयमा दरभङ्गामा भनेका थिए– सिक्किमको राष्ट्रियता समाप्त भयो, पाकिस्तान विखण्डन भयो, हामी नेपाल गएनौं भने नेपालको राष्ट्रियता खतरामा पर्छ । त्यसैले म नेपाल जान लागेको । त्यही कुरा बताउन तपाईंहरूलाई बोलाएको भनेर लामो विवेचना प्रस्तुत गरे । हामीले लोकतन्त्रको मात्रै कुरा ग¥यौं भने विदेशीको गोटी बन्छौं, राष्ट्रियताको मात्रै कुरा गर्यौं भने अधिनायकवादको गोटी बन्छौं । त्यसैले हामीले राष्ट्रियता जोगाउने, प्रजातन्त्रको लडाइँ पनि लड्ने भनेर वीपी नेपाल आए । वीपीले जीवनभन्दा राष्ट्रियता महत्वपूर्ण भएको बताए, आफ्नो जीवनमा पनि त्यो दर्शाए ।’

‘परिस्थितिको विवेचना गरेर अगाडि बढ्ने नै राजनेता हुन्छ वीपीमा यो क्षमता थियो । सुम्निमाको कुरा गर्दा आर्य सभ्यता र किराँत सभ्यताको कुरा जस्तो पनि लाग्यो । सोमदत्तको छोरा पुलोमा सुम्निमाकी छोरी, भिल्लहरू सिङ्गो दर्शनको सभ्यताको द्वन्द्व त्यहाँ छ । सुम्निमा कोटीको साहित्य सिर्जना गर्न त्यति सजिलो छैन । वीपीका हरेक साहित्य मदन पुरस्कार पाउन लायक छन् । सुम्निमा नोवेल पुरस्कार पाउन लायकको कृति छ ।’ घिमिरेले भने ।

त्यसैगरी राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले वीपीका तीन घुम्ती, सुम्निमा, मोदी आइन, नरेन्द्र दाइ, दोषी चस्मा, हिटलर र यहुदीजस्ता सबै कृति पढ्नै पर्ने रहेको बताए । उनले कोइरालाका सबै कृतिमा ह्यूम्यान टच एवं समानता पाइने र कुनै पनि पात्रलाई गिराएर नलेखिएको बताए ।

अधिकारीले तीन घुम्तीको उदाहरण दिँदै भने– ‘तीन घुम्तीको खल पात्र रमेशलाई हेर्नुहोस् । रमेश भनेको पिताम्बरको साथी ऊ जेलमा परेपछि साथीको कोठामा आउँछ, सघाउँछ, श्रीमती इन्द्रमायासँग सम्पर्क राख्छ । इन्द्रमाया गर्भिणी भएपछि छोडेर हिँड्छ । त्यो पढ्दा रमेशको पनि मजबुरी, आकर्षण यसरी मनोवैज्ञानिक ढंगले राखिएको छ कि ऊप्रति घृणा उत्पन्न हुँदैन । त्यस्तै नरेन्द्र दाइमा एउटा पात्र छ मुनरीया, अर्को पात्र छ गौरी । गौरी ८ वर्षमा विवाह भएकी गोरी चिटिक्क परेकी नरेन्द्र दाइकी श्रीमती हुन् । सजातीय तीसँग नरेन्द्रको कहिल्यै सम्बन्ध हुँदैन । गौरीको पीडालाई वीपीले यसरी राखेका छन् कि त्योभन्दा पनि पीडामा मुनरीया छिन् । वेश्यालयमा बसेकी मुनरीयाको दारुण चित्र छ । मुनरीयालाई ठूलो न्याय गरेका छन् लेखकले । गौरीलाई छोड्ने मुनरीयालाई अपनाउने नरेन्द्र दाइले यस्तो प्रेमभाव, स्नेहभाव जगाउँछ कि नरेन्द्र पनि एउटा परिस्थितिको कारण भएको वीपीले देखाएका छन् । असल हुनु ठूलो नहुनु मोदी आइनको सन्देश हो । असलले समाजमा सद्भाव बढाउँछ ठूलो हुनेले ठूलो र सानोबीचको भेद बढाउँछ । महाभारतको धर्मयुद्ध थियो अपरिहार्य थियो भन्ने कुरालाई उल्टाएका छन् ।’

अधिकारीले अझै थपे– ‘मलाई सबैभन्दा मन परेको वीपीको किताव सुम्निमा हो । सुम्निमामा भौतिकवाद र अध्यात्मवादको ठूलो द्वन्द्व छ । सुम्निमा, सोमदत्त, सोमदत्तको छोराको, सुम्निमाको छोरी र भिल्ल ५ पात्रमा घुम्छ पुरै किताब । जसमा अद्भुत वर्णन छ । कोसीका किनारको वर्णन छ । प्रकृतिको वर्णन छ । सुम्निमाले आफ्नी छोरीलाई सम्झाएर यो जातिगत कुरा होइन अध्यात्मगत कुरा गर्ने हो भने हेर नानी, तैंले जसलाई रोजेकी छस्, ऊ तपस्वी बाउनको छोरा हो, जहिले पनि आकाशतिर हेर्छ, ग्रह, नक्षत्र हेर्छ, त्यहाँ के छ भनेर हेरिरहन्छ, भुइँमा टेक्दैैन, भुइँमा हेर्दैन त्यति हुँदा पनि त यसलाई मान्छु भनेर बसेकी छस् भने यति बुझ्नु तेरो खुट्टा धर्तीमा गाडिएको छ भनेकी छन् । यहाँ दुई फरक सोचयुक्त मानव समुदायको कुरा छ, । दुवै एकअर्कामा फरक छन् । तर अध्ययन गर्दा के पाइन्छ भने वीपीको कुनै पनि पात्रप्रतिको न्याय यो उपन्यासमा पनि उत्तिकै सबल रूपले आएको छ ।’

कार्यक्रममा काठमाडौं कांग्रेस जिल्ला सदस्य रामचन्द्र घिमिरेले वीपी राजनीतिमा नेपालका सन्दर्भमा सिद्धान्तकार रहेको बताए । उनका अनुसार वीपीले साहित्यमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र नयाँ शैली दिएका छन् ।

घिमिरेले भने–‘वीपीको उपन्यास तीन घुम्तीमा प्रेमी, पत्नी र आमाको चित्र छ । सुम्निमामा प्रेमविनाको जर्वजस्ती यौन मिलनले मानसिक कुण्ठा र विकृतिको विकास हुने तथ्य प्रस्ट पारिएको छ । नरेन्द्र दाइ मनोवैज्ञानिक उपन्यास हो । मोदी आइनको कुरा गर्दा महाभारत युद्धकथा यसको विषय वस्तु हो । हिटलर र यहुदी हिटलरले निर्दोष यहुदी मारेको घटनाको आधारमा लेखिएको छ । बाबु आमा र छोरा नेपाली समाज वा पश्चिमा समाजमा पनि नपच्ने कथा शृङ्खला छ । कथा दोषी चस्मा मनोविज्ञान एवं चरित्र प्रधान कथा हो । जीवनी आफ्नो कथा राजनीतिज्ञ तथा साहित्यकार वीपी कोइरालाको आत्मकथा हो । जेल जर्नल जेलमा रहदाको मनोविज्ञान, दशा र भोगाइको स्मरण डायरी हो । केही समयअघि सार्वजनिक भएको वीपीको अन्तिम डायरीमा वि.सं. २००८ सालदेखि वि.सं.२०१३ सालसम्म लेख्नु भएको डायरी छ । यसमा वीपीले नेपालीको छोरा बुद्ध संसारको शान्तिको प्रतीक बनेकामा गर्व गर्नुपर्ने बताएका छन् । अर्कोतर्फ आफूले केही गर्न नसकेको हीन भावनाका साथै मैले केही गर्नुपर्छ, समय यसै वरवाद भइरहेको छ भन्ने छ । यो किताब पढ्दा तत्कालीन परिस्थिति र अहिलेको परिस्थिति तुलना गर्न मिल्छ । कांग्रेसलाई संकट चौतर्फी छ । बाहिरी चलखेल र भित्री चलखेलले मुलुक जनता आक्रान्त थिए भने अहिले पनि त्यही छ । मुलुकमा व्याप्त भ्रष्टाचार, हत्या, हिंसा, असुरक्षा एकातिर छ । अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धमा नेपाल कमजोर बनिरहेको छ । वीपीलाई सम्झदा वीपीले बेहोरेकोे समय र हामीले बेहोरेको समय उस्तै देखिन्छ । वीपीले भनेझै आफ्नो सक्रियता निरन्तर देखाउनु नै अहिलेको सन्दर्भमा वीपी पथ हो ।’

कार्यक्रमका सहभागीले वीपीले नेपाली जनताको घरमा खेती गर्ने जमिन होस्, दुहुना गाई होस्, स्कुल, अस्पताल होस् भनेर सरल भाषामा सबै जनताले बुझ्ने गरेर परिकल्पना गरेको समाजवाद अहिलेको सन्दर्भमा अझ बढी आवश्यक भएको बताए । कांग्रेसको अबको समाजवादी कार्यक्रम के हो ? तल्लो तहका मानिसलाई वीपीले राजनीतिमा पनि धेरै महत्व दिएको देखिन्छ । वीपीको साहित्य पढ्दा पनि यिनै कुरा पाइन्छन् भन्ने विषयमा सहभागीबीच बृहत् छलफल भयाे ।

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं ४ ‘क’ का प्रदेशसभाका प्रत्यासी साधुराम खड्का, टोखा नगरपालिका उपमेयरका प्रत्यासी रजनी थपा, नेपाली कांग्रेस काठमाडौं ५का सचिव कृष्ण वस्ती, दैलेख कांग्रेसका नेता एकेन्द्र्र पन्त, रामेछाप नेविसंघका नेता उज्वल घिमिरे, श्याममणि आचार्य, दीपक कार्की, एकेन्द्र लिम्बू लगायतको उपस्थिति थियो ।

Skip This
Logo