पर्यटन प्रवर्धनका लागि बैंकक-लुम्बिनी सीधा हवाई सम्पर्कमा चेम्बरको जोड

पर्यटन प्रवर्धनका लागि बैंकक-लुम्बिनी सीधा हवाई सम्पर्कमा चेम्बरको जोड


काठमाडौं ।

नेपाल चेम्बर अफ कमर्सले नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सहकार्यको आवश्यकतामा जोड दिएको छ । थाइल्याण्डको बैंकक र निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा उडान गरी पर्यटन र सांस्कृतिक विकासमा दुई मुलुकसँगै अगाडि बढ्नु पर्ने चेम्बरको धारणा छ ।

नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफको सम्मानमा नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवन कान्तिपथमा आयोजना गरेको स्वागत कार्यक्रममा अध्यक्ष राजेशकाजी श्रेष्ठले सिधा हवाई उडानमा जोड दिए ।

श्रेष्ठले नवनियुक्त राजदूतको कार्यकालको सफलताको कामना गर्दै नेपाल थाइल्याण्डबीच बिद्यमान व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनको सम्भावनालाई उपयोग गर्न र वुद्धिष्ट सर्किट प्रवर्धनका लागि व्याङकक लुम्विनी वीच सीधा हवाइ सम्पर्कका लागि पहल गरिनु पर्ने धारणा राखे ।

अध्यक्ष श्रेष्ठले नेपालमा वैदेशिक लगानीको वातावरण बनेकाले ठूला पूर्वाधार निर्माणका ग्लोवल टेण्डरमा थाइ निर्माण कम्पनीहरुलाई सहभागी गराउन आग्रह गरे । नेपालको पर्यटन, कृषी, तथा जडीवुटी उद्योग लगायतका क्षेत्रमा लगानीका लागि उपयुक्त हुन सक्ने उनको भनाइ छ । थाइल्याण्ड बुद्धमार्गीहरुको मुलुक भएको उल्लेख गर्दै नेपाल र थाईल्याण्ड बिच बुद्धिष्ट सर्किटको माध्यमबाट नेपालमा थाइ पर्यटक आगमनको लागि थाइ पर्यटन वोर्डले उल्लेखनीय भूमिका निर्वाह गर्नसक्ने भएकाले यसको लागि पहल गरीदिन उनले आग्रह गरे ।

स्वागत कार्यक्रममा नेपाल चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल उपाध्यक्षद्वय कमलेशकुमार अग्रवाल, दिपककुमार मलहोत्रा एवं कार्य समितिका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

 

Logo