आगामी चुनावमा राप्रपा सबैभन्दा ठूलो दलः अध्यक्ष थापा

आगामी चुनावमा राप्रपा सबैभन्दा ठूलो दलः अध्यक्ष थापा


मकवानपुर,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आगामी चुनावमा जनताले राप्रपालाई सबैभन्दा ठूलो दलको रुपमा चुन्ने बताएका छन् । गृह जिल्ला मकवानपुरको हेटौंडामा सोमबार प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेपछि पूर्व उपप्रधानमन्त्री थापाले कम्युनिष्ट र कांग्रेसले जनसेवा भन्दा लुटतन्त्र मच्चाएकाले राप्रपा वैकल्पिक शक्तिको रुपमा उदाउने दाबी गरे ।

‘चाहे बेरोजगारी समस्याको कुरा होस्, चाहे धार्मिक–सांस्कृतिक र राष्ट्रिय कमजोर पार्ने कुरा होस्, कम्यूनिष्ट सरकार असफल भईसक्यो, प्रमुख प्रतिपक्षी कांग्रेस पनि असफल भएको छ,’ उनले भने, ‘नीतिगत र व्यवस्थागत कमी कमजोरी सच्याएर लैजान सक्ने नयाँ शक्ति जनताले खोजिरहेका छन् ।’

आम नागरिक अहिलेको अवस्थाबाट सन्तुष्ट नरहेको भन्दै उनले जनचाहना अनुसार राप्रपा सशक्त ढंगले अघि बढ्नुपर्ने अवस्था आएको बताए। राप्रपासँग एजेण्डा मिल्ने दलहरुसँग एकताको प्रयास भईरहेको भन्दै चाँडै एकता हुने पनि उनले खुलासा गरे । आगामी पुसभित्र देशका सबै तहको वडा, स्थानीय तह र जिल्लामा राप्रपाको गठन, पुनर्गठन गर्ने बताउँदै उनले २०७७ जेठभित्र महाधिवेशन गर्ने तयारी गरेको पनि बताए ।

‘राजनीतिको निहुँमा चुनाव जितेर ब्रम्हलुट गरिरहेका छन्, यही कारणले ब्यापारी, ठेकेदारहरु चुनावी मैदानमा छन्,’ उनले भने, ‘जनताको सेवा गर्छु भन्ने ईमान्दार, त्यागी नेताहरुले चुनाव जित्न सक्ने अवस्था छैन ।’ वडा अध्यक्षदेखी सांसदहरुको चुनावमा ठेकेदार, ब्यापारीहरुलाई पार्टीले टिकट दिन थालेको दाबी गर्दै उनले उनीहरुकै कारण लाखौं–करोडौं खर्च हुन थालेको बताए।
नागरिकबाट

Logo