अझै खुलेन दशैँको अग्रीम टिकट

अझै खुलेन दशैँको अग्रीम टिकट


काठमाडौँ,

दशैँलाई लक्षित गरेर सार्वजनिक यातायातको अग्रीम टिकट बुकिङ खोल्ने तयारी अहिलेसम्म शुरु भएको देखिएको छैन । अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा एक महीना पहिले नै यातायातको अग्रीम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना शुरु हुन २० दिन मात्रै बाँकी हुँदा खुल्ने तयारी देखिएको छैन ।

विगत वर्षमा दशैँको समयमा भाडा वृद्धि नगरी टिकट नखोल्ने व्यवसायी अडिग रहेका थिए भने यो वर्ष पनि विभिन्न बहानामा समयमा टिकट नपाउने हो कि भन्ने चिन्ता यात्रुमा छ । समयमा टिकट बुकिङ गरेपछि मात्रै यात्रु ढुक्क हुनसक्ने यातायात क्षेत्रका अभियन्ता राम थापाले बताउनुभयो ।

हिन्दू धर्मालम्बीको सबैभन्दा ठूलो चाड मानिने दशैँमा घटस्थापनादेखि नै विद्यालय, कलेज लगायतका धेरै संस्था बन्द हुने गर्छन् । समयमै टिकट खोल्दा चाहने व्यक्ति समयमा नै घर फर्कन सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अग्रीम टिकट नखोल्दा दशैँको मुखमा खोल्दा यात्रु दोब्बर÷तेब्बर तिरेरसमेत घर जान बाध्य हुनुपर्ने अवस्था आउँछ ।”

दशैँका समयमा धेरै यात्रु आवतजावत गर्ने हुँदा यात्रुको सुरक्षाका विषयमा समेत सरकार र व्यवसायी गम्भीर हुनुपर्ने थापाले बताउनुभयो । दशैँका समयमा काठमाडौँ उपत्यका र उपत्यका बाहिरबाट पनि एउटा जिल्लाबाट अर्को जिल्लामा धेरै यात्रु जाने गरेका छन् । क्षमताभन्दा बढी यात्रु बोक्दा वा खराव अवस्थाका सवारी साधनका कारण दुर्घटनाको जोखिम रहन्छ । उहाँले भन्नुभयो, “कसरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पु¥याउने भन्ने अहिलेदेखि नै तयारी हुनुपर्छ ।”

यातायात व्यवस्था विभागले यो साता मात्रै सरोकारवाला निकायसँगको छलफल शुरु गरेको छ । आगामी साता सरोकारवाला निकायसँग विभागमा बस्ने वैठकले अग्रीम टिकट कहिलेदेखि खोल्ने भन्ने निर्णय हुने महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । व्यवसायीले दिने सवारी साधनको सङ्ख्या र सम्भावित यात्रुको सङ्ख्याका आधारमा निर्णय हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरु सबै तथ्याङ्क लिएर आगामी साता आउनु भएपछि मात्रै थप निर्णय हुनेछ ।”

सबैभन्दा बढी यात्रुको चाप काठमाडौँमा रहेकाले पहिले काठमाडौँमा रहेका सवारी साधनको सङ्ख्या र अवस्थाका बारेमा अध्ययन हुने महानिर्देशक हमालले बताउनुभयो । यहाँ रहेका सवारी साधन पर्याप्त नहुँदा काठमाडौँ बाहिरका रुटमा चलेकालाई समेत काठमाडौँ ल्याएर सञ्चालन गरिने उहाँको भनाइ छ । सम्भावित दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्ने विभागको योजना छ । विगतमा भएका गल्ती यस वर्ष हुन नदिइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा गाडी भनेर अर्कोमा सिट हुने, छतमा यात्रा गर्नुपर्ने अवस्था यो वर्ष आउन दिइने छैन ।”
रासस

Logo