चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा, परराष्ट्र सचिवले गरे स्वागत

चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा, परराष्ट्र सचिवले गरे स्वागत


काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् । चिनियाँ स्टेट काउन्सिलर यी पाकिस्तानको इस्लमावाद हुँदै काठमाडौं आइपुगेका हुन् । दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम भए पनि वाङ साँझ सवा ६ बजेमात्र विशेष विमानमार्फत् काठमाडौं ओर्लेका हुन्।

वाङलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले विमानस्थलको अति विशिष्ठ कक्षामा स्वागत गरेका थिए। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको पूर्वसन्ध्यामा भएको विदेशमन्त्रीको भ्रमणलाई नेपालले निकै महत्व दिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन् ।

विदेशमन्त्री वाङले भोलि (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने छन् । ती भेटहरुमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

समकक्षी प्रदीप ज्ञवालीसँग भने चिनियाँ विदेशमन्त्री वाङको भेटवार्ता सोमबार हुने छ ।परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्टलगायतका भौतिक संरचना, चीन९काठमाडौं रेलमार्ग निर्माणलगायतका विषयमा छलफल हुने एजेण्डा परराष्ट्रले तय गरेको छ ।

उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय भ्रमणको प्रतीक्षा पाँच वर्षदेखि हुँदै आएको छ। यसबीच नेपालले पटक(पटक चिनियाँ राष्ट्रपति सी जिङ पिलाई नेपाल भ्रमणका लागि निम्ता दिइँदै आएको छ।

यो पाँच वर्षमा आधा दर्जन सरकार परिवर्तन भए तर राष्ट्रपति सीको भ्रमण हुन नसकिरहेको अवस्थामा चिनियाँ विदेश मन्त्री वाङको नेपाल भ्रमणले अब चीनबाट उच्चस्तरिय भ्रमणलाई निश्चित जस्तै मानिएको छ ।

Logo