सुरक्षाको नौलो तरिका

सुरक्षाको नौलो तरिका


  • वासुदेव गुरागाईं –

दैनिक लाखौँ रूपैयाँ कारोबार हुने दर्जनौ होटलहरू एक हप्तादेखि सुख्खा छन् । कुनै होटलमा एकरत्ति कारोबार छैन । ग्राहक आए न कारोबार हुने हो, ग्राहक नै नआएपछि कहाँबाट केको कारोबार हुनु ! कामदारलाई पारिश्रमिक दिन पनि धौ धौ परिरहेछ । होटलवालाहरू के गर्ने के नगर्ने मनस्थितिमा अलमलिइरहेछन् । कुनै निर्णयमा पुग्न सकिरहेका छैनन् ।

यी कुनै तारे होटलहरू होइनन् । यी त दुई नम्बरिया नेता, कर्मचारी, ठेकेदार, बिचौलिया, दलाल, डन, गुन्डा र अरू यस्तैको दैनिक जमघट हुने थलो हो । भएनभएका काला करतूतहरू बुन्ने बुनाउने थलो हो । यही भएर स्थानीयस्तरमा खटिएर आएका नयाँ सुरक्षा अधिकारीहरूले यहाँका होटलबाट नयाँ नौलो तरिकाबाट महिनावारी उठाउने प्रस्ताव राखेका थिए । यसो गरिएमा होटलवालाहरूको कुनै पनि कारोबारमा कुनै पनि समय कुनै पनि किसिमको बाधा अवरोध कहीँ कतैबाट नहुने आश्वासन उनीहरूको थियो ।

मुलुक राजनीतिक हिसाबले अब पहिलाजस्तो छैन । मुलुकमा सुशासनको आश्वासन पर्याप्त मात्रामा सुनिदै आइएको छ । सरकारले भनेगरेका कुरामा हामीले विश्वास गर्नुपर्छ । पत्याउनु पर्छ । सुशासनको सुनौलो यस अवस्थामा हामीले महिनावारीको कामलाई विगतका दिनमा झैँ किन निरन्तरता दिइरहने भनेर होटलवालाहरूले सुरक्षा अधिकारीहरूको प्रस्तावलाई सिन्को जत्तिको पनि मानेनन् । ठाडै अस्वीकार गरिदिए । होटलवालाहरूको अस्वीकारोक्तिप्रति सुरक्षा अधिकारीहरूले वचनमा त्यस्तो कुनै नराम्रो प्रतिक्रिया जनाएनन् । अझ होटलको सुरक्षाका लागि आफूहरूका तर्फबाट सकेको सहयोग प्राप्त हुने आश्वासन नयाँ अधिकारीहरूले दिए ।

सुरक्षा अधिकारीहरूले सुरक्षाको काममा ढिलाइ गर्ने कुरै भएन । भोलिपल्टैबाट सुरक्षाका नयाँ हर्कतहरू देखिन थाले । होटलहरूमा ग्राहकको आवतजावत सुरु हुनु केही समयअघिदेखि नै सडकमा लाठीधारी सुरक्षाकर्मीहरूको आवतजावत सुरु हुन थाल्यो । घरि यता के खोजेजस्तो, घरि उता के खोजेजस्तो गरेर सुरक्षाकर्मीहरू सडकमा भौँतारिन थाले । उनीहरूको गतिविधि भित्री रूपमा होटल केन्द्रित भए पनि बाहिरी रूपमा पूर्णतः सडक केन्द्रित थियो ।

सर्वसाधारण नागरिकको जिज्ञासामा उनीहरू सुरक्षाका हिसाबले यतिखेर समय प्रतिकूल भएको जवाफ दिन्थे । ‘के हो र कसो हो’ ले सम्पूर्ण बजार त्रस्त बन्यो । आज त्यस्तै, भोलि त्यस्तै गरेर हप्ता दिन बितिसक्यो । परिस्थितिमा अलिकति पनि सुधार छैन । सडकको यस गतिविधिले होटलहरू सबै सुके । चुनादाम कारोबार छैन । त्यहाँसम्म आउने आँट न कुनै नयाँ ग्राहकले गर्न सके न कुनै पुराना ग्राहकले । होटलको व्यापार चौपट भयो । होटल बन्द गर्नुपर्ने स्थितिमा पुगे उनीहरू ।

एक हप्तापछि होटलवालाहरूको आकस्मिक बैठक बस्यो । उनीहरू पहिला आफूहरूले जुन कुरा हुन्न भनेका थिए त्यही कुरा हुन्छमा पुगेर उनीहरू एक मतले सहमत भए । उनीहरूको सहमतिको कुरा तत्कालै नयाँ सुरक्षा अधिकारीहरूको जानकारीमा पुग्यो । यो विषय सुरक्षा अधिकारीहरूले जानकारी पाउनासाथ सडकको सुरक्षा स्थिति पनि शान्त बन्यो । सडकमा तैनाथ सुरक्षाकर्मीहरू ब्यारेक फर्किए । सडक सुरक्षाको यो नौलो प्रयोगपछि सडकले अशान्त बनेर फेरि कहिल्यै पनि आफ्नो दैनिकी गुजार्नु परेन । ‘तैँ चुप मै चुप’ को स्थितिमा सडक पूर्णतः शान्त बन्यो ।

Logo