बाग्लुङ पहिरो अपडेटः ३ को मृत्यु, ७ जना घाइते

बाग्लुङ पहिरो अपडेटः ३ को मृत्यु, ७ जना घाइते


बाग्लुङ । तमानखोला गाउँपालिका–४ लाम्मेलामा गए राति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । स्थानीय ओमबहादुर श्रीपालीकी ४५ वर्षीया श्रीमती पञ्चकुमारी, देवेन्द श्रीपालीकी ७० वर्षीया आमा असारी र १२ वर्षीय छोरा प्रवीणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा हराएका असारी र प्रवीणको शव भेटिएको बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदमबहादुर नेपालीले जानकारी दिए । पञ्चकुमारीको शव भने बिहानै पहिरोबाट निकालिएको थियो ।

पहिरोमा परी सात जना घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेमध्ये ओमबहादुर श्रीपालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारको लागि अन्यत्र पठाउने तयारी भइरहेको छ । पहिरोले पशु चौपायासहित भौतिक सम्पत्तिमा ठूलोे क्षति पुगेको छ ।

क्षतिको यकिन विवरण आउन समय लाग्ने प्रहरीको भनाइ छ । १५० मिटरमाथिबाट खसेको पहिरोले पाँच घरमा क्षति पुर्‍याएको जनाइएको छ । अहिले पनि वर्षा भइरहेकाले उद्धार तथा राहतमा कठिनाइ भइरहेको छ । उद्धारमा प्रहरी, जनप्रतिनिधिसहित स्थानीयवासी खटिएका छन् ।

मध्यपहाडी लोकमार्ग अवरूद्धः
यस्तै लगातारको पानीले स्थानीय बडिगाड खोलामा बाढी आएपछि मध्यपहाडी लोकमार्गअन्तर्गत गर्ने बाग्लुङ–बुर्तिवाङ सडक भत्किएको छ । बाटो भत्किँएपछि पोखरा, कुस्मा र बाग्लुङ बजारबाट पश्चिम बाग्लुङ जाने यातायातका साधन अलपत्र परेका छन्।

पोहोर भदौमा आएको पहिरोले बनाएको तुरतुरे ताल पनि बडिगाड खोलामा आएको बाढीले भत्काइदिएको छ। ताल भत्किएपछि पानीको सतह एक्कासी बढेको र त्यसले मध्यपहाडी लोकमार्ग भत्काएको स्थानीयको भनाई छ । अहिले पानीको सहत घट्दै गएकाले अरू क्षतिको सम्भावना भने न्यून छ ।

बाग्लुङमा पहिरोमा परी १ जनाको मृत्यु, २ बेपत्ता

Skip This
Logo