पाँचपोखरी ट्रेल म्याराथन हुने

पाँचपोखरी ट्रेल म्याराथन हुने


काठमाडौं,

साहसिक खेलकुद हाम्रो अभियान, धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको पहिचान’ भन्ने नारासहित तेस्रो पाँचपोखरी ट्रेल म्याराथन आगामी साउन ३० गते हुने भएको छ । नेपाल पर्यटन बोर्ड, काठमाडौंमा पाँचपोखरी थाङ्पाल गाउँपालिकास्थित खेलकुद विकास समिति सिन्धुपाल्चोकद्वारा पत्रकार सम्मेलन गरी सो जानकारी दिइएको हो ।

‘पर्यटन प्रवर्द्धनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ स्वस्थ रहन खेलकुद र खेलकुदका माध्यमबाट यस भेगको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रम संयोजक टासी शेर्पाले जानकारी दिए । खेलको माध्यमबाट नै पाँचपोखरी, रैथाने र यस पालिकामा सयौंको संख्यामा रहेका पर्यटकीय क्षेत्रहरूको राष्ट्रिय एवं अन्तर्राष्ट्रियसम्म पहिचान गराउने रहेको कार्यक्रम संयोजक शेर्पाले बताए ।

सम्मेलनमा बोल्दै पूर्वमन्त्री शेरबहादुर तामाङले आफू पनि यो प्रतिस्पर्धीमा धावक बनेको घोषणा गरे । पर्यटन वर्ष २०२० लाई लक्षित गरी गरिएको प्रतियोगिताले सिंगो गाउँपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउनेछ, उनले भने । पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले यो खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नको लागि आयोजना गरेको बताउँदै यसको लागि गाउँपालिका प्रायोजक रहेको जानकारी दिए । प्रतियोगितामा खुला महिला र पुरुषहरूको छुट्टाछुट्टै प्रतिस्पर्धा गराइने बताइएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिनेछ । सिन्धुपाल्चोकबाट सहभागी भई विजेता हुनेलाई भने थप १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
अन्नपूर्णबाट

Logo