इबोला संकटः रुवान्डाद्वारा कंगोसँगको सीमा बन्द

इबोला संकटः रुवान्डाद्वारा कंगोसँगको सीमा बन्द


कंगो,

अफ्रिकी मुलुक कंगोमा प्राणघातक इबोलाको संक्रमण बढ्दै गएको संकेत देखिएसँगै रुवान्डाले कंगोसँगको सीमा बन्द गरेको छ । छिमेकी मुलुक रुवान्डाले कंगोको सीमावर्ती शहर गोमामा तीन व्यक्तिमा इबोलाको संक्रमण देखिएपछि रुवान्डाले सीमा बन्द गरेको हो ।

कंगोका राष्ट्रपतिको कार्यालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा रुवान्डाले एकपक्षीय रुपमा नाका बन्द गरेको उल्लेख छ । यहाँ दैनिक जीवनयापनका लागि स्थानीय मानिसहरु सीमावर्ती शहरमा ओहोरदोहोर गर्ने प्रचलन छ । कंगोले मानिसको दैनिक जीवनमै असर पार्ने गरी सीमा बन्द गरेको भन्दै आपत्ति जनाएको छ ।

रुवान्डाको पछिल्लो कदमबाट करिब २० लाख जनसंख्या बसोबास गर्ने गोमा शहर र रुवान्डाको करिब ८५ हजार जनसंख्या रहेको गिसेन्यीबीचको आवतजावत बन्द भएको छ । रुवान्डाको पछिल्लो निर्णयले ठूलो संख्याका कंगोली नागरिक र रुवान्डाको गिसेन्यीमा रहेका विदेशीलाई गोमा भ्रमणमा कठिनाई हुने पनि
कंगोले जनाएको छ ।

सन् २०१८ को अगष्ट यता कंगोमा फैलिएको इबोलाका कारण एक हजार ८०३ जनाको ज्यान गइसकेको छ । गोमा शहरमा संक्रमित तीन जना मध्ये दुई व्यक्तिको मृत्यु भइसकेको छ । स्वास्थ्य अधिकारीहरुले शहरी इलाकामा यो रोगको संक्रमण अझ तिब्र हुने बताएका छन् ।
रासस / एएफपी

Logo