जनमोर्चाको कदम: सरकारी खर्चमा जापान जान लागेका वडाध्यक्षको भ्रमण रद्ध

जनमोर्चाको कदम: सरकारी खर्चमा जापान जान लागेका वडाध्यक्षको भ्रमण रद्ध


बागलुङ। नगरप्रमुखको नेतृत्वमा जापान भ्रमण जान लागेका जैमिनी नगरपालिका–५ का वडाध्यक्ष गोपालप्रसाद शर्मालाई पार्टीले रोकेको छ । शर्मा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष हुन् ।

नगरपालिकाको खर्चमा जापान भ्रमण जानु अनुचित भएकाले पार्टीले भ्रमण रद्द गरेको राजमो बागलुङका अध्यक्ष अमर थापाले बताए । ‘नगरपालिकाको खर्चमा विदेश घुम्न जानु उपयुक्त होइन भन्ने हाम्रो धारणा हो’–उनले भने ‘पार्टीले रोकेपछि उहाँ जापान नजाने हुनुभएको छ ।’

नगरपालिकाको खर्चमा नगरप्रमुख ईन्द्रराज पौडेलसहितको टोली जापान भ्रमणमा जाने भएपछि त्यसको आलोचना भइरहेको छ ।‘पार्टीले जापान भ्रमण नजानु भन्यो, मैले त्यसलाई सहस्र स्वीकार गरें’– वडाध्यक्ष शर्माले भने । ‘द वर्ल्ड भिजन’ नामक गैरसरकारी संस्थाको निमन्त्रणामा नगरप्रमुख पौडेलको नेतृत्वमा ६ सदस्यीय भ्रमण टोली सोमबार जापान प्रस्थान गर्दैछ ।

‘सात सदस्यीय टोली भ्रमणमा जाने निश्चित भएको थियो’–नगरप्रमुख ईन्द्रराज पौडेलले भने–‘एकजना वडाध्यक्षले पार्टीले अनुमति नदिएका कारण जान नसक्ने जानकारी गराउनुभएको छ ।’

भ्रमणमा प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा, वडा नम्बर–२ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, वडा नम्बर–२ का सदस्य प्रेमप्रसाद सापकोटा, वडा नम्बर–६ का सदस्य केशव चालिसे र नगर कार्यपालिका सदस्य लालबहादुर परियार पनि जाँदैछन् ।

भ्रमण टोलीमा पूर्वसासंद प्रकाश शर्मा पौडेल, सुन्तलाचौर माविका प्रअ नन्दलाल सापकोटा र अर्का एक स्थानीय पनि जाँदैछन् । उनीहरु भने व्यक्तिगत खर्चमा जान लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए ।

चालू आवका लागि भ्रमण शीर्षकमा छुट्याइएको रु १० लाख बजेटमा नगरपालिकाको टोली जापान जान लागेको हो ।

Logo