कर्णाली प्रदेशले कर्मचारीका लागि मोटरसाइकलको सट्टा साइकल किन्यो

कर्णाली प्रदेशले कर्मचारीका लागि मोटरसाइकलको सट्टा साइकल किन्यो


सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कर्मचारीका लागि साइकल किनिएको छ । मोटरसाइकलको साटो साइकल किनिएको हो । त्यसका लागि मुख्यमन्त्री कार्यालयले १० वटा साइकल किनेको छ ।

वातावरणमैत्री शहरको पहिचान दिने उद्देश्यसँगै इन्धन खपत कम गर्न कर्मचारीले साइकल चढ्ने निर्णय गरिएको प्रमुख सचिव केवल भण्डारीले जानकारी दिए। अब मन्त्रिपरिषद् कार्यालयमा १४ वटा साइकल भएका छन् ।

अब कर्मचारीहरुले ति साइकल पालैपालो चढ्नेछन् । नजिक घर हुने कर्मचारी साइकलमा आउने(जाने र दिउँसो कार्यालयबाट अन्य काममा जाँदा मोटरसाइकल चढेर आउने जाने गरी व्यवस्था मिलाइएको प्रमुख सचिव भण्डारीको भनाई छ ।

कार्यालयले ३० हजार दरले १० साइकल किन्न तीन लाख रुपैयाँ खर्च गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अहिले ५० कर्मचारी कार्यरत छन्। ति सबै कर्मचारीहरुले पालै पालो साइकल चढ्नेछन् ।

प्रदेश सरकारले वीरेन्द्रनगर शहरलाई साइकलमैत्री बनाउने अभियान चलाएको छ । केही समयअघि विश्व साइकल दिवसको अवसर पारेर ‘कर्णाली राइडर्स’ क्लब पनि गठन गरिएको थियो । उक्त क्लबले वीरेन्द्रनगरमा साइकल राइड गर्ने गरेको छ। प्रदेश सरकारले वीरेन्द्रनगरको सुब्बाकुनादेखि बांगेसिमलसम्म साइकल लेन बनाउन बजेटको व्यवस्था गरेको छ ।

Logo