बेहाल जोरपाटी-सुन्दरीजल सडक: एक जनाको मृत्यु, दुई दर्जन घाइते

बेहाल जोरपाटी-सुन्दरीजल सडक: एक जनाको मृत्यु, दुई दर्जन घाइते


जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकखण्ड स्थानीयले अवरुद्ध गरेका छन् ।

सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको चार वर्ष बित्दा समेत काम शुरु नगरी माटो हालेर थप समस्या ल्याउन खोजिएको स्थानीयवासीको आरोप छ । माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने गरेको स्थानीयवासी नन्दलाल श्रेष्ठको गुनासो छ ।

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार एवं कालोपत्रका लागि पहिलो पटकको म्याद सकिएर थपेको समय पनि भदौमा सकिँदैछ । तर सडकको अवस्थामा कुनै परिवर्तन भएको छैन । सार्वजनिक जग्गा भएका स्थानमा विस्तार गर्न पर्खाल लगाए पनि अन्यत्र काम शुरु हुन सकेको छैन । काम शुरु हुन नसकेका ठाउँको सडकमा खाल्डाखुल्डी बन्दा पानी जमेर किनारका घरमा पनि बस्न सक्ने अवस्था छैन । सार्वजनिक जग्गामा पर्खाल लगाएको ठाउँमा समेत खाडल नपुर्दा सवारी आवागमनमा समस्या छ ।

गोकर्णेश्वर महादेव मन्दिरबाट भगवतीस्थानतिर आउने मूल सडकमा पर्खाल लगाए पनि बीचमा पर्ने रुख अझै काटिएको छैन । यसले गर्दा यातायात सञ्चालनमा अप्ठ्यारो भइरहेको छ । धेरै सवारी साधन फस्ने गरेको यात्रु श्याम पुडासैनीले बताउनुभयो ।

सडकको विभिन्न स्थानमा बनेका खाडलमा ताल र पोखरी छन् । करीब सात किमीको यो सडक विस्तार एवं निर्माणका लागि दुई चरणमा ठेक्का गरिएको थियो । दुवैतर्फको अधिकांश भागमा काम शुरु हुनसकेको छैन । काम शुरु गरेको स्थानमा पनि पूरा नगरी झुलाएर राखिएको छ ।

विसं २०७२ मा गरिएको ठेक्काको पहिलो पटकको म्याद गत भदौमा सकिएपछि एक वर्षका लागि समय थप गरियो । थप गरिएको समय सकिन एक महीनामात्र बाँकी हुँदा काम भने शुरु हुनसकेको छैन । सडक नबन्दा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, स्थानीयवासीलगायत प्रयोगकर्ताले सास्ती बेहोर्नुपरेको छ । सङ्घीय संरचना अनुसार तीन तहको सरकार क्रियाशील रहे पनि जनताका यस्ता समस्या समाधानमा कसैको ध्यान नपुगेको सडक छेउका बासिन्दा कुमार श्रेष्ठको गुनासो छ ।

सडकको केन्द्रविन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक विस्तार गर्न काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का लगाएको थियो । दुई खण्डमा गरी करीब रु ५५ करोडको ठेक्का गरियो । मुआब्जा पाउनुपर्ने माग गर्दै स्थानीयवासीले विरोध जनाएपछि काम हुनसकेन । विसं २०७४ असोजमा सर्वोच्च अदालतले स्थानीयवासीको घरजग्गा लिएर सडक विस्तार गर्दा मुआब्जा दिनुपर्ने फैसला गरेको थियो ।

फैसलालाई पुनरावलोकन गर्न सडक विभागले गरेको पुनरावेदनमा पनि मुआब्जा दिएरै विस्तार गर्न आदेश जारी भइसकेको छ । यो सडकको सबै भाग गोकर्णेश्वर नगरपालिकामा पर्छ । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना स्थानीयवासीको समस्या, सर्वोच्चको फैसलालाई ध्यान दिएर केन्द्रविन्दुबाट दायाँबायाँ सात सात मिटर कायम गर्ने प्रस्ताव गरिएको बताउछन् ।

समस्या समाधानका लागि आजै आयोजनाको कार्यालय नयाँ बानेश्वरमा तीनै तहका जनप्रतिनिधिसहित सडक विभागका अधिकारीको बैठक भइरहेको पनि उहाँले जानकारी दिनुभयो । यो प्रस्तावमा प्रदेश र सङ्घीय संसद्मा निर्वाचित जनप्रतिनिधिको सहमति नजुट्दा समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो । करीब सात किमीको यो दूरीमा नौ सय घर छन् । स्थानीयवासीको सहमतिअनुसार सात सात मिटर बढाउँदा कसैलाई चित्त नबुझे सर्वोच्च अदालतको फैसला बमोजिम मुआब्जा तिरेर बढाउन सकिने जोरपाटी–सुन्दरीजल सडक विस्तार सरोकार समितिका संयोजक सरोजकुमार श्रेष्ठ बताउछन् ।

“चावहिल–बोद्ध–जोरपाटी–थली–साँखुको जस्तो मापदण्ड जोरपाटी–सुन्दरीजलको तोकिएको छैन, ठेक्का गर्दा नै बिनाआधार केन्द्रविन्दुबाट ११÷११ मिटर विस्तार गर्ने भनी सूचना जारी गर्दा अहिले समस्या आएको हो”,उहाँले भन्नुभयो । अन्य सडकमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले विसं २०३३ र २०४५ मा तयार पारेको मापदण्ड छ । जुन मापदण्ड तत्कालीन नगर विकासले तयार पारेको थियो । जोरपाटी–सुन्दरीजल सडकको मापदण्ड छ भनी लेखेको कागजात देखाए पनि अन्य सडकको जस्तो प्रमाणित दस्तावेज हालसम्म नभेटिएको विस्तार सरोकार समितिले जनाएको छ ।

यो खण्डको सडकको दूरावस्थाले दैनिकजसो सार्वजनिक यातायात दुर्घटनामापर्ने गरेको विस्तार सरोकार समिति सचिव सुशील सिम्खडाले सुनाउनुभयो । मुआब्जा तिरेर केन्द्रविन्दुबाट ११/११ मिटर सडक बढाउन तयार नभए सहमतिमा सात मिटर वा त्यसमा समेत सहमति नभए अहिलेकै अवस्थामा कालोपत्र गरी सडकलाई ताल एवं पोखरीबाटमुक्त गरिनुपर्ने उनले बताए  ।

एक महीनाअघि जीर्ण सडकमा पुरानो सवारी गुडाएका कारण बा २ ख ८७४४ नं को सार्वजनिक यातायात दुर्घटना हुँदा परिचालकको घटनास्थलमै मृत्यु भएको थियो । दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका थिए । तीमध्ये आधादर्जन गम्भीर घाइत भई अझै उपचाररत छन् । चावहिल–बौद्ध–जोरपाटी–थली–साँखु सडक विस्तार समेत पूरा नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । यो मार्गको बीचबीचमा १००-२०० मिटर कालोपत्र गरिए पनि अधिकांश भाग हिलाम्य छ ।

Logo