काङ्ग्रेसले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

काङ्ग्रेसले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने


नेपाली काङ्ग्रेसले ७ वटै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आइतबार बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

काङ्ग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले डा. जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको छ । समितिका सदस्यहरुमा डा. आरजु देउवा, हरिहर विरही, राजु नेपाल र प्रशिश महरा रहेका छन् ।

त्यस्तै बैठकले तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन गरेको छ । समितिका सदस्यमा भद्रा पराजुली भण्डारी र रामजी कङ्ग्रेन रहेका छन् । यसैगरी खिलानाथ दाहालको संयोजकत्वमा गठन गरिएको स्रोत व्यवस्थापन समितिमा सुभाष पोखरेल, डा. प्रभु बुढाथोकी, कमला लामिछाने, भगिरथ पोद्दार र योगराज शर्मा कँडेल सदस्य रहेका छन् ।

यसैबीच काङ्ग्रेसले पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको राष्ट्रिय प्रशिक्षण कार्यक्रम पनि काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

Logo