बाढीपहिरोबाट अहिलेसम्म ६७ जनाको मृत्यु

बाढीपहिरोबाट अहिलेसम्म ६७ जनाको मृत्यु


काठमाडौँ,

करिव एक हप्ता अघिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबारअपरान्हसम्म ६७ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार विपदमा परी काठमाडौँमा तीन, मकवानपुरमा छ, ललितपुर, रौतहट र भोजपुरमा पाँच, पाँच, ओखलढुङ्गा, सिरहा र सिन्धुलीमा चार, चार, खोटाङ, धनुषा र काभ्रेपलाञ्चोकमा तीन, तीन, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा दुई, दुई तथा इलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा एक,एक गरी ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुने मध्ये २६ महिला र ४१ पुरुष छन् ।

बाढी तथा पहिरोमा परी ३२ जना बेपत्ता भएका छन् । बेपत्ता भएका १४ महिला र १८ पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी डोल्पामा नौ, सिन्धुलीमा चार, इलाम र मोरङमा तीन,तीन, महोत्तरी र मकवानपुरमा दुई,दुई तथा काठमाडौँ, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा एक/एकजना बेपत्ता भएका छन् ।

विपदमा परी ३९ घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले प्रभावित जिल्लाबाट एक हजार ४४५ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

सडक सञ्चालनमा

पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले अवरोध हटाएर सञ्चालनमा ल्याएको छ । त्यस्तै ललितपुर, मकवानपुर, रामेछाप, मुस्ताङ, मनाङ, ओखलढुङ्गा, भोजपुर, रौतहट, महोत्तरी, पाल्पा, कालिकोट लगायत स्थानमा भएको अवरोध हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका–१ र ४ जोड्ने पूर्व–पश्चिम राजमार्गमा रहेको भप्सी खोलामा अस्थायी डाइभर्सन निर्माण गरिएको भए पनि पानीको बहाव बढ्दा पुनः अवरुद्ध भएको छ ।

रासस

Skip This
Logo