पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी

पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी

केन्द्रबिन्दु
56
Shares

पोखरा। महेन्द्रपुलबाट नयाँ बजारमा स्थानान्तरण गरिएको पोखरा आर्ट ग्यालरीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा ग्यालरी तयार भएपछि प्रदर्शनी आयोजना गरिएको हो। गण्डकी प्रज्ञा–प्रतिष्ठानले आर्ट ग्यालरीमा ५० वटा लाइट र आवश्यक पर्ने थप सरसामान सहयोग गरेर प्रदर्शनी हललाई आर्कषक बनाएको छ।

आगामी दिनमा थप सहयोग समेत गर्ने तयारी प्रतिष्ठान गण्डकीले गरेको जनाएको छ। प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको ‘प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ आगामी बुधबारसम्म सञ्चालन हुनेछ।

सिर्जनशील कलाकार समूहसँगको सहकार्यमा प्रदर्शनी गरिएको हो। प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले उद्घाटन गरे।

‘सामाजिक रुपान्तरणः ललितकलाको अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारका ७४ वटा कला सिर्जना प्रदर्शनमा राखिएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए।

पाँच दिने प्रदर्शनीको समापनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग संवाद कार्यक्रम गरिने भएको छ । देशका सुप्रसिद्ध कलाकारको सहभागितामा कार्यक्रम आयोजना भएकाले नयाँ तथा पुराना कलाकारको जमघट हुने ठाउँ प्रदर्शनी स्थल बन्ने आयोजकको अपेक्षा छ।

प्रादेशिक प्रदर्शनीमा सामेल ललितकलालाई पुरस्कार समेत प्रदान गरिनेछ। सबै विधाबाट उत्कृष्ट हुने एक जनालाई ५० हजार रुपैयाँ, चित्रकलातर्फ परम्परागत चित्रकला र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तिकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार गरेर एक–एक जनालाई तथा लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ दुई जनालाई पुरस्कृत गरिनेछ। सबै विधातर्फका विजेताले ३० हजार रुपैयाँ नगद हात पार्नेछन्।

यससँगै प्रदर्शनीमार्फत छानिएका चित्र आगामी जेठ १५ गते काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी हुनेछन्। राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट हुनेलाई एक लाख र विधागत उत्कृष्ट बन्नेलाई ६० हजार रुपैयाँ पुरस्कार छ। राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिष्पर्धा हुनेछ।

ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आफूहरु प्रतिष्ठानमा आइसकेपछि परम्परागत शैलीमा सञ्चालन हुँदै आएका काम कारवाहीलाई व्यवस्थित गर्ने र प्रभावकारी बनाउने हेतुले थुप्रै योजना अगाडि सारेको बताए।

‘जाति जनजातिको कला आज हामी देख्न पाउदैनौ, केही अपवादबाहेक घरभित्र थन्किएको छ, समुदायमा थन्किएको छ, सुषुप्त हुन थालेको छ, त्यसलाई पुनर्जागरण गर्ने भनेका छौँ,’ उनले भने।

समाज रुपान्तरण गर्न ललितकलाको भूमिका महत्वपूर्ण हुने भएकाले सोही अभियानका साथ आफूहरुले काम गर्न थालेको उनले सुनाए। ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तु तथा अन्य सिर्जनात्मक विभाग प्रमुख समेत रहेकी कार्यक्रम संयोजक सौरगंगा दर्शनधारीले सबैको साथ सहयोगका कारण पोखरामा प्रदर्शनी सम्भव भएको बताइन्।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले अब हरेक वर्ष १० दिने कला प्रदर्शनी गण्डकी प्रदेशमा आयोजना गरिने बताए। त्यसरी आयोजना गरिने प्रदर्शनी हरेक वर्ष प्रदेशका फरक–फरक जिल्लामा गर्ने तयारी गरिएको उनले खुलाए।

Logo