प्रसुति गृह र वीर अस्पतालको भवन पुनर्निर्माण सम्पन्न

प्रसुति गृह र वीर अस्पतालको भवन पुनर्निर्माण सम्पन्न


काठमाडौं,

०७२ वैशाखको भूकम्पबाट क्षति भएका परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसुति गृह र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले वीर अस्पतालमा पुनर्निर्माण गरिएको भवनको उद्घाटन गर्नुभयो ।

भूकम्पबाट क्षति भएका स्वास्थ्य संस्थाका पूर्वाधारहरुको पुनर्निर्माण कार्यक्रम अन्तर्गत नेपाल सरकार र जापान सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुसार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक तथा आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् प्रसुति गृह र वीर अस्पतालको पुनर्निर्माण गरिएको हो ।

पुनर्निर्माण गरिएको प्रसुति गृहमा १८२ शैया रहेका छन् भने वीर अस्पतालमा ९४ शैया छन् । यी दुइवटा भवनको लागत २ अर्ब ३६ करोड रुपैयाँ छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणपछि बनेको अत्याधुनिक र सुविधा सम्पन्न भवनबाट प्रसुति गृहले पुर्याउने सेवामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अझ राम्रो र बलियो भन्ने पुनर्निर्माणको मुख्य अवधारणा अनुसार अत्याधुनिक र सुरक्षित भवन बनेकोमा खुशी व्यक्त गर्नुभयो ।
नेपाल समाचारपत्रबाट

Logo