विश्वकपमा नयाँ टोली च्याम्पियन हुने पक्का

विश्वकपमा नयाँ टोली च्याम्पियन हुने पक्का


लन्डन,
इंग्ल्यान्डमा जारी १२ औं संस्करणको विश्वकप क्रिकेट प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया सेमिफाइनलबाट बाहिरिएपछि नयाँ टोली च्याम्पियन हुने पक्का भएको छ ।

बिहीबार बर्मिङघममा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक टोली इंग्ल्यान्डले गत संस्करण २०१५ को च्याम्पियन अष्ट्रेलियालाई ८ विकेटले हरायो । टोलीले २ सय २४ रनको लक्ष्य २ विकेटको क्षतिमा ३५ ओभरमा प्राप्त गरेको थियो । योसँगै इंग्ल्यान्डले २७ वर्षपछि प्रतियोगिताको फाइनलमा पुगेर न्युजिल्यान्डसँग खेल्ने तय गरेको छ ।

२७ वर्ष अघि सन् १९९२ मा इंग्ल्यान्ड फाइनलमा पुगे पनि पाकिस्तानसँग अप्रत्यासित रुपमा हारेको थियो । अहिलेसम्म इंग्ल्यान्डले विश्वकप उपाधि जित्न सकेको छैन भने अर्को टोली न्युजिल्यान्डले पनि विश्वकप ट्रफीको स्वाद चाख्न पाएको छैन ।

टोलीका जितमा ओपनर जेसन रोयले ८५ रन र जोनी बेयरस्टोले ३४ रनको योगदान दिएका थिए । रोय र बेयरस्टोले पहिलो विकेटका लागि १ सय २४ रनको साझेदारी गरेका थिए । जुन यस प्रतियोगितामा लगातार तेस्रो शतकीय साझेदारी समेत थियो ।

यसअघि टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २ सय २३ रन मात्रै बनाउन सकेको थियो । कमजोर बनेको अष्ट्रेलियालाई स्टिभ स्मिथ र एश्ली कोरीले केही उकास्ने प्रयास गरे । उनीहरुले चौथो विकेटका लागि १ सय ३ रनको साझेदारी गरे ।

अब फाइनल खेल आइतबार हुनेछ ।

Skip This
Logo