असारको अन्तिमबाट मनाङमा नियमित उडानको तयारी

असारको अन्तिमबाट मनाङमा नियमित उडानको तयारी


लमजुङ,

विश्वप्रशिद्ध अन्नपूर्ण पदमार्गमा पर्ने मनाङको हुम्डे विमानस्थलमा नियमित उडानको तयारी गरीएको छ । स्तरोन्नति र मर्मत सम्पन्न भएको करिब ६ वर्षपछि नियमित उडानको तयारी गरिएको हो ।

नेपाल नागरिक उड्डयान प्राधिकरणमा धेरै पटक उडानका लागि अनुरोध गर्दा पनि अहिलेसम्म उडान हुन नसकेको सो विमानस्थलमा असारको अन्तिम साताबाट नियमित उडान सुरु गर्न लागिएको मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले बताए । सांसद गुरुङले आगामी असार २० बाट नियमित उडान गर्ने तयारी गरिए पनि प्राविधिक कारणले असार २७ गतेबाट नियमित उडानको तयारी गरिएको बताए ।

“२० गते पहिलो उडान गर्ने योजना थियो, एकजना पाइलट विदेश भएकोले एकहस्ता पछि सर्यो,” सांसद गुरुङले भने, “मौसमले साथ दिएमा २७ गते पहिलो उडान हुनेछ ।”

सांसद गुरुङका अनुसार मनाङमा सातामा एकदिन हुनेगरी नियमित उडान सुरु हुनेछ । मनाङको एकमात्र विमानस्थलमा हवाईजहाज नचल्दा स्थानीयदेखि कर्मचारी र पर्यटकसमेत प्रभावित भएका छन् । समुद्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा रहेको हुम्डे विमानस्थल यसअघि पनि साताको दुई पटक मात्र उडान भर्दै आएको थियो । करिब ६ वर्ष अघि ९ करोड रुपैयाँ लागतमा विमानस्थलको ९ सय मिटर लामो धावनमार्गलाई स्तरोन्नति गरिएको थियो । साँघुरो अवस्थामा रहेको विमानस्थलको धावनमार्ग मर्मत र कालोपत्रे भएपछि हरेक महिना उडान भर्न सकिने प्राधिकरणले जनाएको छ ।

कारोबारबाट

Logo