सिन्धुलीमा पत्रकार कुट्ने प्रहरी हवल्दार र जवान निलम्बित

सिन्धुलीमा पत्रकार कुट्ने प्रहरी हवल्दार र जवान निलम्बित


सिन्धुली,
नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालमाथी कुटपिट गर्ने प्रहरी हवल्दार र प्रहरी जवान निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सलामसिंह लामा र प्रहरी जवान विकास स्याङ्तान कार्की दाहालमाथी निर्घात कुटपीट गरेको अभियोगमा निलम्बनमा परेका हुन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक अपराधमा संलग्न भएको भन्दै ६ महिनाका लागि निलम्बन गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव निरीक्षक लोकदर्शन थापाले बताए ।

सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पत्रकारमाथि भएको कुटपीटको घटनालाई लिएर किटानी जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुगेको पत्रकार महासंघको टोलीसंग कुराकानी गर्दै थापाले भने, ‘कुटपिटमा संलग्न हवल्दार र जवान दुबैलाई छ महिनाका लागि निलम्बन गरेर अनुसन्धान अघि बढाएका छौं।’

कमलामाई नगरपालिका ६ शिवनगरचोकमा रहेको शिवनगर खाजा घरमा शनिवार राति करिव ९ बजे खाना खाँदै गर्दै लामा र स्याङ्तानले पत्रकार कार्की र दाहालमाथी निर्घात कुटपिट गरेका थिए ।

सादा पोशाकमा गएका लामाले कार्की र दाहाल खाना खाँदै गर्दा मोवाइलबाट भिडियो खिचेको विषयलाई लिएर झगडा भएको थियो । भिडियोको विषयलाई लिएर भएको झगडा कुटपिटमा परिणत हुँदा पत्रकार महासंघका अध्यक्ष कार्की गम्भीर घाईते भएका थिए भने दाहाल सामान्य घाइते भएका थिए ।
अन्नपूर्णबाट

Logo