कोभिड सङ्क्रमितले क्वारेन्टिनमा बस्नु पर्ने समयावधि घट्यो, अब १० दिन बसे पुग्ने

कोभिड सङ्क्रमितले क्वारेन्टिनमा बस्नु पर्ने समयावधि घट्यो, अब १० दिन बसे पुग्ने


काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ । यसअघि सङ्क्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नु पर्नेमा अबदेखि १० दिन मात्र बसे हुने जनाइएको छ ।

विभिन्न अध्ययनले १० दिनपछि सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने देखाएपछि क्वारेन्टिन वा आइसोलेशनमा बस्नु पर्ने समयमा विधि घटाइएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । सङ्क्रमणको लक्षण चिह्न देखिएर बिरामी भएका र गम्भीर प्रकृतिका बिरामीबाहेक सबै सङ्क्रमितलाई १० दिन मात्र राख्ने मन्त्रालयको नीति, योजना र अनुगमन महाशाखाले निर्णय गरेको थियो ।

यस्तै मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालक केन्द्रले विदेशबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य १० दिन क्वारेन्टिन वा आइसोलेशनमा बस्न भनेको छ । केन्द्रका प्रमुख तथा सहप्रवक्ता डा अधिकारीले सूचना जारी गर्दै विदेशबाट नेपाल आएका वा सङ्क्रमितको सम्पर्कमा आएको दिनदेखि कम्तीमा १० दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नु पर्ने जानकारी दिए।

महाशाखाले १० दिन बसेका आधारमा मात्र स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न सबै अस्पताललाई समेत अनुरोध गरेको छ । महाशाखा प्रमुख डा गुणराज लोहनीले सूचना प्रणाली अद्यावधिक गरे अनुसार नै अस्पताललाई शोध भर्नाबापतको रकम उपलब्ध गराइने जानकारी दिए। उनले कुनै पनि अस्पतालले कोभिड–१९ का बिरामी भर्ना गरी उपचार गरेको सूचना प्रणालीमा अद्यावधिक नगरेमा मन्त्रालय/प्रदेश/स्थानीय तहबाट हुने अस्पताल नवीकरण वा सूचीकरण नहुने व्यवस्थासमेत गरिएको जानकारी दिए ।

मन्त्रालयले निःशुल्क उपचार गरेवापतको शोध भर्ना रकम माग गरिएका बिरामीबाट कुनै पनि शुल्क नलिन समेत अनुरोध गरेको छ । मन्त्रालयले बिरामीबाट शुल्क लिएको पाइएमा शोधभर्ना नगरिने बताएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमित ४४४ जना क्वारेन्टिनमा र छ हजार ९४ जना होम आइसोलेशनमा छन् । त्यस्तै दुई लाख ५१ हजार ६९२ सङ्क्रमित, दुई लाख ४० हजार ३६३ निको र एक हजार ७४९ जना सङ्क्रमणका कारणले निधन भएका छन् ।

Logo