नीति कार्यन्वयनको विपरीत आन्दोलनमा जाने ट्यांकर ढुवानीकर्ताको चेतावनी

नीति कार्यन्वयनको विपरीत आन्दोलनमा जाने ट्यांकर ढुवानीकर्ताको चेतावनी


काठमाडौं,

उपभोक्तामुखी सेवालाई बेवास्ता गर्दै आएका इन्धन ढुवानीमा संलग्न ट्यांकर व्यवसायीले आफ्ना माग पूरा गराउन १ साउनदेखि आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् ।

पेट्रोलियम ढुवानी व्यवसायी महासंघले मंगलबार आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै मूल्य अभिवृद्धि कर (भ्याट) को दायरामा आएर कारोबार गर्नुको सट्टा हड्ताल गर्ने चेतावनी दिएको हो । उनीहरुले भ्याटमा कारोबार गर्न वर्ष दिनको समय मागेका छन् । जुन गलत छ । अहिले देशभर करिब २ हजार ट्यांकर आयल निगमले भाडामा लिएर प्रयोग गरिरहेको छ ।

आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटले ढुवानीका सबै साधनलाई भ्याटको दायरामा ल्याउने नीति लिएको छ । यो नीति १२ असारबाटै कार्यान्वयनमा आइसकेको छ । तर, इन्धन बोक्ने ट्यांकरलाई केही समय दिएर भ्याटको दायरामा ल्याउन खोजे पनि व्यवसायीले हड्ताल गर्ने धम्की दिएर सरकारको नीति कार्यान्वयन नगर्ने अड्डी कसेका छन् ।

निगमका प्रवक्ता वीरेन्द्र गोहितले व्यवसायीको ज्ञापनपत्र पाएको जानकारी दिँदै संचालक समितिमा पेश गरी उचित निर्णय लिने जानकारी दिए । ‘भ्याटमा दर्ता भएर कारोबार गर्न केही समस्या हुन्छ भनेर व्यवसायीले ज्ञापनपत्र दिएका छन्’ उनले भने, ‘व्यवसायीको समस्यालाई बोर्ड बैठकमा प्रस्तुत गर्छौं र त्यहींबाट निष्कर्ष निकाल्नेछौं ।’

इन्धन ढुवानीमा वार्षिक करिब ४ अर्ब रुपैयाँ खर्च भइरहेको छ । यो रकम अहिलेसम्म भ्याटको दायरामा छैन । इन्धन ढुवानीकर्ताले कर कम तिर्न सबै ट्यांकर व्यवसायीको नाममा दर्ता गरेका छन् । करिब १ सय ट्यांकर मात्र कम्पनीमा दर्ता छन् । उनीहरुले मंगलबार आयल निगमलाई पत्राचार गर्दै सबै ट्यांकर बैंकको ऋणमा रहेको जानकारी दिएका छन् । ती ट्यांकरले बैंकबाट निकालेर कम्पनीको नाममा ल्याई भ्याट कारोबार गर्न वर्ष दिन लाग्ने बताएका छन् ।
नयाँ पत्रिकाबाट

Logo