सांसदहरुले जब ओलीलाई ‘झुटप्रसाद ओली’ र देउवालाई ‘छेरबहादुर’ भने

सांसदहरुले जब ओलीलाई ‘झुटप्रसाद ओली’ र देउवालाई ‘छेरबहादुर’ भने


काठमाडौं । संसदमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच जुहारी चल्नु सामान्य हो । एउटा प्रश्न गर्ने अर्कोले त्यसको प्रतिवाद गर्ने यो सधै चलिरहन्छ । विपक्षका सांसद चर्को आलोचना गर्ने र सत्तापक्षका सांसदको त्यसको प्रतिवाद गर्छन् ।

तर आइतबारको संसद बैठकमा भने नेताहरुबीच फरक तरिकाले जुहारी चलेको छ । प्रतिपक्षका सांसदले प्रधानमन्त्री केपी शर्मा ओली धेरै हावादारी कुरा गर्दै हिडेको भन्दै झुटबहादुर ओली नाम राख्नुपर्ने बताए ।

संसदको शुन्य समयमा नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले सरकार असफल भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले हावादारी कुरा गर्दै हिँडेको दाबी गरे । उनले प्रधानमन्त्रीको नाम झुट्प्रसाद ओली राख्दासमेत फरक नपर्ने दाबी गरे।

उनले भने, ‘सरकार हरेक काममा असफल भइरहेको छ। काण्डै काण्डमा फसेको छ। जथाभावी कर बढाएर उहाँ करप्रसाद ओली बन्नु भएको छ। उहाँले झुटको खेती गरेकोले उहाँको नाम ‘झुटप्रसाद ओली’ उपनाम राख्दा केही फरक पर्दैन। सरकारका मन्त्रीहरु पनि हावादारी गफ गर्दै हिँडेका छन्।’

चौधरीको भनाइको प्रतिवाद गर्दै सत्तारुढ दलका सांसदले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नाम ‘छेरबहादुर’ राख्दा तपाईहरुलाई आपत्ति हुन्छ कि हुदैन भन्दै प्रतिप्रश्न गरेका छन् ।

सत्तापक्षका सांसद झपटबहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम बिगारेको भन्दै आपत्ति जनाए। उनले नेपाली जनताको प्रतिनिधिले सभ्य भाषा बोल्न नसकेको टिप्पणी गरे ।

‘हामीले यस्तो बोल्दा जनताले के सिक्ने ? सम्माननीय प्रधानमन्त्रीको नाम बङ्ग्याएर ‘करप्रसाद, झुटप्रसाद’ राख्नुभयो। प्रतिपक्षी दलको नेताको जो आदरणीय हुनुहुन्छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सट्टा हामीले ‘छेरबहादुर’ भन्न बाध्य भए के हुन्छ ?’ उनले प्रश्न थियो ।

संसदमा बोलिने भाषा सभ्य हुनुपर्ने भन्दै उक्त भनाई संसदको रेकर्डबाट हटाउन माग गरे । सभामुख कृष्णबहादुर महराले यो विषय गम्भीर भएको भन्दै पछि निर्णय गर्ने बताए ।

Logo