रुकुमको २ करोड पनि झिकेर झापा लगियोस् : जनार्दन शर्मा

रुकुमको २ करोड पनि झिकेर झापा लगियोस् : जनार्दन शर्मा


काठमाडौं,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्माले आर्थिक वर्ष २०७६/०७७ को बजेट नेतामुखी भएको बताएका छन् । बुधबार संसदको शून्य समयमा बोल्दै शर्माले पछाडि परेका क्षेत्रलाई प्राथामिकतामा राख्नु पर्नेमा बजेट नेतामुखी आएकोमा दुःख व्यक्त गरे ।

सँगै उनले रुकुममा छुट्याइएको दुई करोड ४० लाख रुपैयाँ झापामा रकमान्तर गर्न प्रस्ताव गरेका छन् । ‘म प्रस्ताव पेश गर्न चाहान्छु, रुकुममा छुट्याइएको बजेट बरु झापामा रकमान्तर गरियोस्’ उनले भने, ‘म प्रधानमन्त्रीलाई सहयोग गर्न चाहान्छु, झापामा हाल्दा मन्त्रीज्यूले दुःख मान्नु हुन्छ भने जनकपुर हालियोस् ।’

आफ्नो जिल्लाका जनताले अघिल्लो वर्षपनि बजेट कम हुँदा गुनासो गरेकोमा यस वर्ष पनि उस्तै रहेको उनले बताए । जिल्लाका कतिपय गाउँ अझै अध्यारोमा रहेको उनले जानकारी दिए ।

साथै शर्माले यसरी बजेट आइसकेपछि छलफल गर्नु समय दुरुपयोग भइरहेको बताए । ‘विस्तृत बजेटको बारेमा माननीयहरुको धारणा लिने र बजेट बनाउने प्रणाली विकास गरौं,’ शर्माले भने, ‘यसरी संसदमा बजेटपछि छलफल नगरौं, समय दुरुपयोग नगरौं ।’
नयाँ पत्रिकाबाट

Logo