संसदमा रमिताः लौरो टेक्ने सांसददेखि प्रधानमन्त्रीको घोसेमुन्टोसम्म

संसदमा रमिताः लौरो टेक्ने सांसददेखि प्रधानमन्त्रीको घोसेमुन्टोसम्म


काठमाडौं । मंगलबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची थियो । बिहान ११ बजेका लागि बोलाईएको बैठक झण्डै १२ बज्न लाग्दा सुरु भयो । सभामुख कृष्णबहादुर महराले बैठक सुरु गरे ।

सभामुख महराले सुरुमै प्रधानमन्त्री ओलीलाई बोल्ने अनुमति दिए । अनुमति पाउनेविक्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाउन थाले ।

ओली रोष्टमतर्फ जाँदै गर्दा कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडू चिच्याउन थाले । उनले प्रधानमन्त्रीले भन्दा पहिला कांग्रेसलाई बोल्न दिन सभामुखसँग माग गरे । तर सभामुखले टेरेनन् । त्यसपछि कांग्रेस सांसदहरु सिटबाट उठेर रोष्टम घेराउ गर्न पुगे ।

प्रधानमन्त्रीले भन्दा पहिला आफुहरुले बोल्न पाउनुपर्ने अडानमा रहेका कांग्रेस सांसदहरु नाराबाजीमा लागे । सभामुख महराले पहिला प्रधानमन्त्रीको कुरा सुनौं पछि म तपाईहरुलाई बोल्न समय दिन्छु भन्दै कराईरहँदा प्रतिपक्षी सांसदहरुले सुनेनन् उनीहरु एकोहोरो कराईरहे ।

प्रधानमन्त्रीको घोसेमुन्टोः

रोष्टममा पुगेका प्रधानमन्त्री टुलुटुल हेरेर उभिरहे । प्रधानमन्त्री ओली लामो समय रोष्टममा उभिरहँदा घरि दायाँ हेर्थे, कहिल्यै बायाँतिर हेथ्र्ये । त्यतिगर्दा पनि उनीहरुको नाराबाजी नरोकिएपछि प्रधानमन्त्री ओली एकछिन रोष्टममै घोसेमुन्टो लगाए । लामो समय उभिरहँदा थकान महशुस गरेका प्रधानमन्त्री ओली दिक्क मानेर घोसेमुन्टो लगाएका हुन् ।

संसदमा देउवाको मौन पोजः

संसद बैठकमा प्रतिपक्षी दल कांग्रेसले नाराबाजी गरिरहेका बेला उनीहरुको नेता भने एकोहोरो रमिता हेरिरहे । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा आफ्ना सांसदहरु रोष्टम घेराउ गर्दै नाराबाजी गरिरहँदा पनि एक ठाउँमा पोज दिएर उभिरहे । उनले कुनै पनि प्रतिक्रिया जनाएनन् ।

प्रचण्ड–ओलीको हेन्सेकः

संसद बैठकमा अर्को एउटा रोचक दृश्य पनि देखियो । संसद बैठक अवरुद्ध भएपछि सभामुख महराले संसद बैठक स्थगित गरे । बैठक स्थगित भएपछि प्रधानमन्त्री ओली रोष्टमबाट बाहिर आए र नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग हात मिलाए । निकै रोचक तरिकाले हात मिलाउँदै एकछिन गफिँदै दुवै नेता बाहिरिए । प्रधानमन्त्रीको सम्बोधन सुन्न बैठकमा पुगेका प्रचण्ड पनि रमिता हेरेर बसिरहेका थिए ।

जब लौरो टेक्ने सांसद देउवा नजिकै उभिएः

कांग्रेस सांसदहरु उभिएर विरोध जनाईरहेका बेला सत्तापक्षका सांसदहरु भने कुर्सीमा बसेर टेबुल ठडाईरहेका थिए । उनीहरु प्रतिपक्षको विरोधको पनि विरोध गर्दै थिए । विरोधकै लागि देउवा पनि रोष्टम छेउमै उभिएका थिए । त्यहिक्रममा कांग्रेसका अर्का एक सांसद लौरो टेकेर देउवा नजिकै आएर उभिए ।

रमिता देखेर अर्थमन्त्रीको खतिवडाको हाँसोः

संसदमा प्रतिपक्ष सांसद उभिएर विरोध जनाइरहेका बेला सत्तापक्षका सांसदहरु कुर्सीमा बसेर टेबुल ठटाईरहेका थिए । उनीहरुले मध्ये कोही रमिता हेरेर बसिरहेका थिए । भने कोही एक आपसमा गफगाफमा व्यस्त थिए । त्यहि क्रममा अर्थमन्त्री डा. युवराज खतिवडा भने संसदको रमिता देखेर मुस्कुराइरहे । राजनीतिभन्दा बाहिरबाट अर्थमन्त्री बनेका खतिवडा सांसदहरुको रमितामा निकै रमे ।

Logo