इन्टरनेटको मूल्य नबढ्ने

इन्टरनेटको मूल्य नबढ्ने


काठमाडौं,

इन्टरनेटको मूल्य नबढ्ने भएको छ । मन्त्रिपरिषद्को जेठ २३ गते बसेको बैठकले इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायत उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको थियो । यससँगै इन्टरनेट सेवा प्रदायकले मूल्य नबढ्ने बताएका छन् ।

मन्त्रिपरिषद्को बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायत उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दुरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको बताए । उनले अघिल्लो वर्ष सेवा प्रदायकसँग भएको सम्झौताको आधारमा यो निर्णय भएको उल्लेख गरेका छन् ।

यो निर्णयसँगै इन्टरनेटको मूल्य नबढ्ने इन्टरनेट सेवा प्रदायक कम्पनीको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसपीएन) का अध्यक्ष भोजराज भट्टले बताएका छन् । ‘गत वर्षको मन्त्रालयसँग भएको सम्झौताकै आधारमा निर्णय भएको भए इन्टरनेटको मूल्यमा कुनै असर पर्दैन’, भट्टले भने, ‘यो निर्णयसँगै साउन १ गतेबाट इन्टरनेटको मूल्य बढाउने तयारीमा रहेको आईएसपीएनले मूल्य बढाउने छैनन् ।’
अन्नपूर्णबाट

Logo