रोष्टममा मौन बसेका सांसदलाई सभामुखले भनिन्, ‘माइक काट्दिउँ ?’

रोष्टममा मौन बसेका सांसदलाई सभामुखले भनिन्, ‘माइक काट्दिउँ ?’


काठमाडौं । संसदमा विरोध जनाउँदा टेबुल ठोक्नेदेखि होहल्ला गर्ने सम्मका दृश्य प्राय देखिन्छन् । अति नै भए संसद्मै कुटाकुट पनि गर्ने गरेका छन् । तर, मंगलबारको प्रतिनिधिसभा बैठकमा भने एउटा अनौठो दृश्य देखियो । त्यो विरोधकै दृश्य थियो । विरोध जनाउँन न टेबुल ठोक्नुपर्‍यो नत हो-हल्ला गर्नुपर्‍यो ।

सत्तारुढ नेकपा सांसद झपट बहादुर रावलले विरोधको लागि संसदमा नयाँ शैली अपनाएका हुन् । ६ मिनेटको बोल्ने समय पाएका सांसल रावलले ४ मिनेट त विरोध नै जनाए । त्यो पनि केही नबोलेर । अर्थात रोष्टममा मौन उभिएर । संसदको रोष्टममा बोल्न उभिएका रावल संसद भवनको सिलिङ र बैठक कक्षतर्फ हेरेर मौन उभिरहे । त्यसपछि सभामुखको आसनबाट राधा ज्ञवालीले सोधिन्, ‘माननीयज्यू के भयो ?’

सांसद रावलले एकछिन घोरिएर जवाफ दिए ‘केही नभएकाले सभामुख महोदय ! नबोलेको ।’ रावल पुनः मौनधारणमा उभिएपछि सभामुख आसनबाट ज्ञवालीले फेरि सोधिन्, ‘यसरी समयको सदुपयोग भएन कि माननीयज्यू ?’

रावलले गला अवरुद्धको शैलीमा भने, ‘त्यो किताबमा नअटेको हुनाले सभामुख महोदय ।’ रावल पुनः मौनधारणमै बसेपछि सभामुखले माइक काट्दिउँ भनिन् । उनले कर्मचारीसँगको सल्लाहपछि सांसद रावललाई उनको सांकेतिक विरोधको ध्यानकर्षण भइसकेकाले बोल्न अनुरोध गरिन् ।

प्रतिनिधिसभामा मन्त्रालयगत वार्षिक कार्यक्रममाथि छलफलका क्रममा शहरी विकास मन्त्रालयको बजेटमाथि बोल्ने रावलले विरोध जनाएका हुन् । आक्रोशपूर्ण अभिव्यक्ति दिदै रावलले मन्त्री इस्तियाक राईलाई ‘विभेदकारी’ को आरोप लगाए ।

कवि शिरोमणि लेखनाथ पौडेलको कविता ‘मै खाउँ मै लाऊँ सुख सयल मोजभाब म गरुँ, मै बाँचु मै नाचुँ अरु सबै मरुन् दुर्बलहरु’ को पंक्ति सुनाउदै आफू दुर्बल जनताको प्रतिनिधि भएका कारण बिभेदमा पारिएको बताए । उनले शहरी विकासको सबै बजेट मन्त्री राईले आफ्नो जिल्ला बाँकेको निर्वाचन क्षेत्रमा केन्द्रित गरेको आरोप लगाए ।

सत्तारुढ दलको सांसद भएका कारण सरकारको आलोचना गर्न नमिल्ने भएकाले आफू मौन बसेको बताए । रावलले देशभरीका सबैभन्दा बढी भूमिहीन र घरबारविहीन समुदाय बसोबास गर्ने कैलालीमा शहरी विकासले कुनै कार्यक्रम नदिएको आरोप लगाए ।

कैलाली क्षेत्र नं. २ मा पुर्नस्थापित बादीहरु अहिले पनि रुखमुनी बसिरहेका छन् भने मुक्त कमैयाहरुले घर पाएका छैनन् । दलित र गरिबहरुको पनि ठूलो संख्या छ । तर शहरी विकास मन्त्रालयले यहाँ बजेट दिएन । रावलले भने ।

उनले कैलाली र कंचनपुरमा जेठ २३ गते विहिबार साँझ आएको हावाहुरीका कारण ठुलो जनधनको क्षति भएको र पीडितहरु अहिले पनि खुला आकासमुनि बस्न बाध्य भएको भन्दै तत्काल उचित वासस्थानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, “नेपाल सरकारको सौतेले व्यवहारको ध्यानाकर्षण गर्न चाहन्छु ।”

Logo