विरोधका बाबजुद पनि ७० हजारको आवेदन, समावेशीतर्फ ३० हजार

विरोधका बाबजुद पनि ७० हजारको आवेदन, समावेशीतर्फ ३० हजार


काठमाडौं,

सडकदेखि संसदसम्म लोकसेवा आयोगले गरेको विज्ञापन खारेज गर्नुपर्ने आवाज उठिरहेका बेला आयोगको परीक्षाको तयारी गरिरहेका लाखौं युवायवुतीलाई भने यसले कुनै असर नपारेको पाइएको छ ।

लोकसेवा आयोगका अनुसार झन्डै ८ लाख युवायुवतीहरू लोकसेवाको परीक्षाको तयारीमा छन् । उनीहरूले आवेदन गर्ने क्रम दिनानुदिन बढिरहेको आयोगले जनाएको छ । आवेदन दिनेहरूले लोकसेवाको परीक्षाको आवश्यक तयारीसमेत गर्न थालिसकिएको बताएका छन् ।

लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनमा आइतबारसम्ममा झन्डै ७० हजारको संख्यामा आवेदन परेको छ । आयोगका अनुसार आइतबारसम्म आवेदन दिनेको संख्या ६६ हजार ७९४ रहेको छ भने समावेशीतर्फ झन्डै ३० हजारको संख्यामा आवेदन परेको छ । समावेशी समूहतर्फ आरक्षण गरिएका विभिन्न समूहअन्तर्गत २८ हजार ८६१ जनाले आवेदन दर्ता गराइसकेका छन् ।

संसद र सडकमा समावेशी सिद्धान्तको पालना नगरी विज्ञापन आह्वान गरिएको भन्दै विरोध भइरहेको अवस्थामा ठूलो संख्यामा समावेशीतर्फ पनि आवेदन परेको छ । दैनिक १० हजारदेखि १५ हजारको संख्यामा आवेदन परिरहेको लोकसेवा आयोगले जनाएको छ ।

यसरी आवेदन दर्ता भएका समावेशी समूह अन्तर्गत महिलातर्फ १६ हजार ४६९, आदिवासी जनजातितर्फ ७ हजार ९८२, मधेसीतर्फ ३ हजार ८४७, दलितमा ५०६ पिछडिएका वर्गमा १९ र अपांगतर्फ ३८ जनाको आवेदन परेको छ । यसरी आवेदन दिनेहरूले खुलातर्फ समेत आवेदन दिने गरेका छन् । आयोग स्रोतका अनुसार एकै व्यक्तिले विभिन्न समावेशी समूह अन्तर्गत रहेर आवेदन दर्ता गराएका छन् ।
राजधानीबाट

Logo