व्यापारीको मिलेमतोमा आफूखुसी मूल्यवृद्धि, लुटिँदै उपभोक्ता

व्यापारीको मिलेमतोमा आफूखुसी मूल्यवृद्धि, लुटिँदै उपभोक्ता


काठमाडौं,

बजेट पूर्व कायम भएको दैनिक उपभोग्य वस्तुको मूल्य व्यापारीको मिलेमतोमा हालसम्म फिर्ता गरिएको छैन । व्यापारीहरूले विभिन्न बहानामा अत्यावश्यक दैनिक उपभोग्य बस्तुको मूल्य आफूखूसी तोकेका थिए । दैनिक उपभोग्य वस्तुको उपभोक्ता मूल्यमा सय रुपैयाँसम्म वृद्धि गरिएको थियो ।

बजेट वक्तव्य आउनु भन्दा तीन दिन अघि दैनिक उपभोग्य बस्तुमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम एक सय रुपैयाँसम्म मूल्यवृद्धि भएको थियो । मूल्यवृद्धिले सबैलाई अतिरिक्त आर्थिक भार थपेको थियो । व्यापारीले एकलौटी रूपमा गरेको मूल्य वृद्धिलाई अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सही छाप लगाइदिएकाले मूल्यवृद्धि कायमै रहेको हो ।

भारतमा भएको आम निर्वाचनका बेला व्यापारीले उपभोग्य बस्तुको मूल्यवृद्धि गरेका थिए । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार भारतमा हालै सम्पन्न निर्वाचनका कारण माग अनुसार आपूर्ति नहुँदा थोक विक्रेताले मूल्यवृद्धि गरी उपभोग्य बस्तु बजार पठाएका थिए । दैनिक उपभोग्य बस्तुमा आधिकारिक रूपमा १० देखि ५० रुपैयाँ वृद्धि भएको जनाइएको छ । थोकले वृद्धि गरी पठाएको मूल्यमा अझै पनि आम उपभोक्ताले बस्तु खरिद गर्न पाएका छैनन् । थोक मूल्यमा १० देखि १५ रुपैयाँ वृद्धि गरी पसलेले अतिरिक्त मूल्य असुल गर्दै आएका छन् ।
अन्नपूर्णबाट

Logo