इटहरीका मेयरलाई मुख्यमन्त्री र योगेश भट्टराईको सुझाव- ‘आत्मालोचना गर्नुहोस्’

इटहरीका मेयरलाई मुख्यमन्त्री र योगेश भट्टराईको सुझाव- ‘आत्मालोचना गर्नुहोस्’


प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले इटहरीका मेयर द्वरिकालाल चौधरीका अभिव्यक्ति पार्टीको नीति, मूल्य मान्यतासँग मेल नखाने बताएका छन् ।

‘इहटरीका मेयर द्वारिका चौधरी हकी स्वभावको हुनुहुन्छ भन्ने कुरा त उहाँको अभिव्यक्तिबाटै थाहा हुन्छ तर पार्टीको मान्यताका बारेमा भने उहाँका बुझाइहरु पूर्णतः त्रुटिपूर्ण छन् ।’ मुख्यमन्त्री पोखरेलले आफ्नो फेसबुकमा लेखेका छन्।

मुख्यमन्त्री पोखरेलले नेकपा विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यताप्रति दृढ रहेको स्मरण गराउदै भनेका छन्, ‘जवजबाट दीक्षित कार्यकर्ताले त लोकतान्त्रिक मूल्यमान्यता र विधिको शासनप्रति झनै प्रतिवद्ध रहनुपर्ने हुन्छ । द्वारिकाजीको आक्रोस पितपत्रकारिता र भ्रष्टाचारविरुद्ध भए पनि अभिव्यक्ति भने अस्वभाविक र गलत छन् ।’

मुख्यमन्त्री पोखरेलले मेयर चौधरीलाई जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसाबले आफ्ना अभिव्यक्तिलाई सच्याउँदै आत्मालोचना गर्नु उचित हुने सुझाव दिएका छन् ।

त्यस्तै नेकपाका युवा नेता तथा सांसद योगेश भट्टराईले पनि मेयर चौधरीको अभिव्यक्ति उनको पद र पार्टीका लागि नसुहाउने भन्दै आत्मालोचना गर्न  सुझाएका छन्। ‘म द्वारिकजीको हकी स्वभाव, प्रष्ट वक्ता र इमानदारिताको पहिलेदेखि कै प्रशंसक हुँ ।तर केही दिन यता उहाँले पत्रकार र अन्य कतिपय व्यक्तिका बारेमा सार्वजनिक भएका अभिव्यक्ति स्वयं उहाँले धारण गर्नुभएको सार्वजनिक पद, उहाँले प्रतिनिधित्व गर्नुभएको पार्टी (नेकपा) र स्वयं उहाँको राजनीतिक उचाईका लागि कदापी सुहाउँदैन ।’ उनले लेखेका छन् ।

मेयर चौधरीले पत्रकार विराट अनुपमलाई ‘नाक भाँच्न एक करोड रुपैयाँ छुट्याएको’ चेतावनी दिएका थिए ।  उनले आफु  नेकपाको कार्यकर्ता भएकाले कसैले केही गर्न नसक्ने आशय समेत व्यक्त गरेका थिए ।

यो पनि 

इटहरीका मेयरले मानसिक सन्तुलन गुमायो, बर्खास्त गर- परशुराम बस्नेत

मेयरले छुट्याए ‘पत्रकारको नाक हड्डी भाँच्न’ एक करोड बजेट

Logo