काठमाडौं
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले पाँच वर्षभित्र मुलुकको मुहार फेरिने गरी विकास र समृद्धिका मुख्य कार्य सम्पन्न हुने दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेस लगायतका दलले नीति तथा कार्यक्रमलाई हावादारी, सपना मात्रै बाँड्ने र नयाँ कार्यक्रमविहीन भनेर चर्को आलोचना गरिरहेका बेला सत्तारुढ दलका सांसदहरूले यस्तो दाबी गरेका हुन् ।
प्रतिनिधिसभामा जारी नीति तथा कार्यक्रम माथिको छलफलमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नीति तथा कार्यक्रम नपढीकनै प्रतिपक्षले टिप्पणी गरेको भन्दै आपत्ति जनाए । ‘नीति तथा कार्यक्रमको ८७ औं बुँदामा संविधान संशोधन गर्ने देखि ५० औं बुँदामा हुलाकी राजमार्ग ५ वर्षमा बनाउने भनेर स्पस्ट लेखिएका पनि यहाँ छैन भनेर बहस हुन्छ, अचम्म लाग्छ,’ उनले भने, ‘चुनावी प्रतिबद्धता अनुसार नीति तथा कार्यक्रम आएको छ, हाम्रो सपनालाई जनताले पत्याएका छन् ।’ नीति तथा कार्यक्रमले १ वर्ष, ३ वर्ष र ५ वर्ष तथा १० वर्षमा कहाँ पुग्ने भनेर लक्ष्य निर्धारण गरेको पनि नेम्वाङले बताए ।
उनले आफूहरूले रेल र पानीजहाजको सपना देख्न थालेको उल्लेख गर्दै प्रतिपक्षी दलका नेतालाई रेल र पानी जहाज चढेर महासागर जान पनि प्रस्ताव गरेका छन् । ‘काठमाडौं देखि दिल्लीसम्म मात्रै होइन, काठमाडौं देखि बेइजिङ हुँदै युरोपसम्म रेलमा नै गएको सपना देख्न थालेका छौं,’ उनले भने, ‘कोसी हुँदै गंगा र महासागरसम्म पानीजहाजमा गएको सपना पनि देख्छु, तपाईंलाई लिएर त्यही पानीजहाजमा जाउँला ।’
नेम्वाङले संविधान अनुसार भएको निर्वाचनमा भाग लिई जितेर आएको र संविधानप्रति प्रतिबद्ध रहेको भन्दै शपथ खाइसक्दा पनि संविधान स्वीकार्य नभएको अभिव्यक्ति हास्यास्पद भएको टिप्पणी गरे । संविधानको धारा विभेदकारी छ भन्ने तर त्यो धारा नदेखाउने प्रवृत्तिले समस्या सुल्झाउन मद्दत नगर्ने उनको भनाइ छ ।
नागरिकबाट
प्रकाशित: १३ जेठ २०७५ ०५:५८ आइतबार