डेढ वर्षमा पनि मेलम्चीको पानी काठमाडौं नआउने

डेढ वर्षमा पनि मेलम्चीको पानी काठमाडौं नआउने


काठमाडौं,

आगामी एक वर्षभित्र पनि मेलम्चीको पानी काठमाडौं नआउने निश्चित भएको छ । आयोजनाको बाँकी काम पूरा गर्न मेलम्ची विकास समितिले १५ महिनाको समयसीमा तोकेर टेन्डर आह्वान गरेकाले सरकारको लक्ष्य पूरा नहुने भएको हो ।

समितिले हेडबक्स निर्माणका १५ महिना र सुरुङ निर्माणका लागि १२ महिनाको समयसीमा तोकेको छ । गत ६ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको बाँकी काम तत्कालै अघि बढाउने निर्णय गरेपछि समितिले टेन्डर आह्वान गरेको हो । सरकारले आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने लक्ष्य राखेको छ । सोही लक्ष्य अनुरूप सरकारले सात अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

‘टेन्डर प्रक्रिया अघि बढेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्पनीले प्रतिस्पर्धामा भाग लिन पाउनेछन्,’ आयोजना प्रमुख सूर्यराज कँडेलले भने, ‘कम्पनी छनोटका लागि एकदेखि डेढ महिना लाग्छ । कम्पनी छनोट हुनेबित्तिकै काम सुरु गर्ने तयारी छ ।’

काम सुरु हुन थप एक महिना लागेमा आगामी आर्थिक वर्षमा काम सकिने सम्भावना न्यून छ । त्यसमाथि निर्माण व्यवसायी अहिले आन्दोलनमा छन् । निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली संशोधन गरिएको भन्दै सरकारी ठेक्का प्रक्रियामा भाग नलिने घोषणा गरेको छ ।

आयोजना ठप्प पार्ने चेतावनी

ठेकेदार कम्पनी सिएमसीले काम छाडेको ६ महिनासम्म पनि भुक्तानी नपाएको भन्दै मजदुर र ठेकेदार आन्दोलित भएका छन् । उनीहरूले आयोजनापीडित स्थानीय संघर्ष समिति नै बनाएका छन् । समितिले मंगलबार विज्ञप्ति जारी गरेर आयोजना ठप्प पार्ने चेतावनी दिएका छन् । भुक्तानी नभई नयाँ टेन्डर आह्वान गरिएको भन्दै उनीहरू आक्रोशित बनेका हुन् । यही अवस्थामा नयाँ ठेकेदार काम गर्न आए अमान्य हुने उनीहरूको चेतावनी छ । गत २९ मंसिरमा इटालियन ठेकेदार कम्पनी (सिएमसी)ले विभिन्न कारण देखाउँदै आयोजनाको काम बीचमै छाडेको थियो ।
नयाँ पत्रिकाबाट

Logo