पाँचथर काण्ड: सरकारले लियो सीताको जिम्मा

पाँचथर काण्ड: सरकारले लियो सीताको जिम्मा


पाँचथरमा भएको सामूहिक हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी बालिकाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिएको छ । भागेर बाँचेकी १२ वर्षीया सीता खजुम लिम्बूको पठन–पाठन र भरणपोषणको जिम्मा प्रदेश सरकारले लिएको हो ।

उक्त क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्यसमेत रहेका प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा खजुमलाई शुक्रबारबाट सुनसरीको इटहरी उपमहानगरपालिका–१९ शहीद स्मृति आवासीय विद्यालयमा भर्ना गरिएको छ । मन्त्री आङ्बोका अनुसार सीताकी आमासहित उनको परिवारका सदस्यसँगको सहमतिमा सीताको पठन–पाठन र भरणपोषणको जिम्मा प्रदेश सरकारले लिएको हो ।

हातमा चोट लागेकी उनको झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भएको थियो । गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा भएको हत्याकाण्डमा ९ जनाको ज्यान गएको थियो।
सामूहिक हत्याको घटनामा सीताका मावलीतर्फका हजुरबुबा बमबहादुर फियाकसहित हजुरआमा, कान्छी सानीआमा र उनकी बहिनी आशिका खजुमको हत्या भएको थियो । सीता विगतबाटै मावलीमा बसेर अध्ययन गर्दै आएकी थिइन् । सीताका बाबुले कान्छी आमा ल्याएपछि उनकी आमाले समेत दोस्रो विवाह गरेकीले उनी वृद्ध हजुरबुबा हजुरआमासँग बस्दै आएकी थिइन् । उक्त घटनामा उनकी माइली ठूलीआमा जस्मिता फियाक (शेर्मा) सहित शेर्माको परिवारका पाँच जनाको समेत हत्या भएको थियो ।

हत्यामा बमहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमलाई मुख्य अभियुक्त मानिएको छ । माखिमको शव जेठ ७ गते उनको घर नजिकै मिक्लाजुङ गाउँपालिका–७ लुमाङ्दिनमा फेला परेको थियो ।  घटनाबारे प्रहरीले अझै अनुसन्धान जारी राखेको जनाएको छ ।

Logo