क्यारेबियन प्रिमियर लिगमा सन्दिपलाई ७० हजार डलर

क्यारेबियन प्रिमियर लिगमा सन्दिपलाई ७० हजार डलर


काठमाडौं,

क्यारेबियन प्रिमियर लिग सीपीएल टि २० को अक्सनमा नेपाली सन्दिप लामिछाने महँगो मूल्यमा बिक्रि भएका छन् । प्रतियोगिताको लागि खेलाडी छनौट गर्न इंग्ल्याण्डमा जारि ड्राफ्ट मार्फत सन्दिपलाई बार्बाडोस ट्रिडेन्टसले टिममा लिएको हो । सीपीएल टि २० को अघिल्लो सिजन सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले खरिद गरेको थियो ।

यो सिजन सन्दिपलाई बार्बाडोसले ठुलो मूल्यमा टिममा लिएको छ । अघिल्लो सिजन ५ हजार डलरमा बिक्रि भएका नेपाली गुगली बलरले यो पटक ७० हजार डलर पाउनेछन् । नेपाली रुपैयाँमा सन्दिप ७८ लाख ९ हजार रुपैयाँमा बिक्रि भएका हुन् । सीपीएल ड्राफ्ट अन्तर्गत सन्दिप पाँचौ चरणमा चुनिएका हुन् । सीपीएल ड्राफ्टमा कुल ५३६ जना खेलाडीहरु रहेका छन् ।

सन्दिपले खेलेको विश्वभरको लिगमा आधिकारिक रुपमा घोषणा भएको मध्ये सन्दिपले पाएको यो सबैभन्दा धेरै मूल्य हो । बिग ब्यास लिगमा सन्दिपले ६०/ ७० हजार डलरको हाराहारीमा पाएको बताईए पनि आधिकारिक रुपमा भने मूल्य बाहिर आएको थिएन ।

इन्डियन प्रिमियर लिगमा सन्दिप गत सिजनमा २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने गत सिजन क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि २० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट छानिएका थिए । यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि २० लिगमा ३० हजार डलर मूल्य पाएका थिए।

सन्दिपसंगै सीपीएल ड्राफ्टमा सोमपाल कामि, दिपेन्द्र ऐरी र रोहित पौडेल पनि रहेका छन् जसलाई हालसम्म कुनै टिमले लिएको छैन । सन्दिप बाहेक अन्य खेलाडी छनौट हुने सम्भावना भने कम मानिएको छ । ४ जना नेपाली खेलाडी सीपीएल ड्राफ्टमा परेको यो नै पहिलो पटक हो । सन्दिप बाहेक अन्य नेपाली खेलाडीहरु हालसम्म विदेशी लिग खेल्न छनौट भएका छैनन् ।

Logo