पूर्वएआईजीको घरमा डकैती गर्ने ‘खुंखार डाँका’ प्रहरी इन्काउन्टरमा समातिए

पूर्वएआईजीको घरमा डकैती गर्ने ‘खुंखार डाँका’ प्रहरी इन्काउन्टरमा समातिए


काठमाडौं । प्रहरीले गोली चलाएर खुंखार डाँकालाई नियन्त्रणमा लिएको छ । पूर्वएआईजी जयबहादुर चन्द, पूर्व डिआईजी विश्वराज सिंह शाही लगायतको घरमा समेत डकैती गरेका काले भनेर चिनिने विष्णु तामाङलाई प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर नियन्त्रणमा लिएको हो ।

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका तामाङ टोखामा रहेको सूचना पाएपछि सोमबार बिहान प्रहरीको टोली त्यहाँ गएको थियो । प्रहरी पुगेको जानकारी पाएलगत्तै उनी भागेका थिए । भाग्ने क्रममा उनले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि गोली हानेर पक्राउ गर्नु परेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले जानकारी दिए ।

नियन्त्रणमा लिन गएको टोलीलाई उनले उल्टै हतियार देखाएर आक्रमणको प्रयास गरेको र आत्मरक्षाको लागि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको थापाको भनाई छ । उनको दायाँ खुट्टाको घुँडा मुनि गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची घर भएका तामाङमाथि ६ वटा अपराधका घटना छन् । उनी प्रहरीको खोजी सूचीमा थिए । उनी ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएका थिए । जेल सजायँपछि पनि उनी अपराधमै संलग्न रहेका थिए ।

Logo