टुटलका चालकले युवती पछ्याएपछि…..

टुटलका चालकले युवती पछ्याएपछि…..


काठमाडौँ,

जेठ २ गते रीना (नाम परिवर्तन) नक्सालबाट उनको घर पानीपोखरी जान टुटल बोलाइन् । समय दिनको ३ बजेको थियो । उनी घर त पुगिन् तर उनलाई टुटलका चालकको तारन्तार फोन र म्यासेजले हैरान बनाएको छ ।

३ गते शुक्रबार बेलुकी त्यही टुटल चालकको नम्बरबाट उनलाई फेरी म्यासेज आयो । त्यस्ता म्यासेजहरु एकपटक होइन पटकपटक आइरहे । अत्ति नै भएपछि उनले टुटललाई एप्लिकेसन मार्फत उजुरी गरिन् । यद्यपि टुटलले उनलाई न त कुनै प्रतिक्रिया दियो न त आश्वासन नै ।

‘त्यो चालकले साथी बन्ने भन्दै मेरो फेसबुक प्रोफाइल मागिरहेको छ’ उनले भनिन् । उनले अहिलेसम्म आफ्नो परिवारलाई यो विषयमा सुनाएकी छैनन् । आफ्नो कारणले परिवारलाई दुख दिन नचाहेको उनको भनाइ छ ।

यो एउटा प्रतिनिधी घटना मात्र हो । त्यसो त काठमाडौंको जाम र अस्तव्यस्तताको समयमा टुटल, पठाओ लगायतले मोटरसाइकलमा सशुल्क यातायात सेवा प्रदान गरिरहेका छन् । यसमा विशेष गरी युवाहरुको आकर्षण राम्रै देखिएको छ। यद्यपि पछिल्लो समय महिलाहरुले मोटरसाइकल सेयरिङमा समस्या रहेको समेत बताउँदै आएका छन् ।

ती टुटल चालकलाई सम्पर्क गर्दा उनले ती महिलालाई म्यासेज पठाएको स्वीकार्दै ‘त्यस्तो व्यवहार नदोहोर्याउने’ बताए । टुटलका सिइओ शिक्षित भट्ट ग्राहकसँग हुन सक्ने गलत क्रियाकलापलाई रोक्न टुटलमा मोनिटरिङ् सिस्टम रहेको बताउँछन् । ‘तपाइँले दिएको जानकारी सही भएको पाइयो भने हामी एक्सन लिनेछौं । ’उनले थपे ‘गन्तव्यमा पुगेपछि ग्राहकले नराम्रो रेटिङ गर्न पाउँछन्, त्यस्तो भएमा हामी सन्दर्भ हेरेर उक्त चालकलाई टुटल प्रयोग गर्न नसक्ने गरी तुरुन्त ब्लक गर्छौ ।’
नागरिकबाट

Logo