कांग्रेसको राष्ट्रिय जागरण अभियान २५ गतेबाट (कार्यक्रमसहित)

कांग्रेसको राष्ट्रिय जागरण अभियान २५ गतेबाट (कार्यक्रमसहित)


काठमाडौं । नेपाली कांग्रेसले यही बैशाख २५ गते बुधबारदेखि राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ । नेपाली कांग्रेसले सोमबार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी आगामी बुधबारदेखि राष्ट्रिय जागरण अभियान संचालन हुने औंपचारिक जानकारी गराएको हो ।

बैशाख ११ गतेबाट सुरु हुने भनिएको सो जागरण अभियान नेता रामकृष्ण ताम्राकारको निधनका कारण स्थगित गरिएको थियो । सोही जागरण अभियान बुधबारबाट सुरु गर्न लागिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

जागरण अभियान अन्तरगत पहिलो चरणको कार्यक्रम एक महिनाको हुनेछ । बैशाख २५ गतेबाट जेठ २५ गतेसम्म संचालन हुने पहिलो चरणको जागरण अभियान सबै जिल्लामा संचालन गरिनेछ । त्यसका लागि पार्टीका केन्द्रिय सदस्यहरु जिल्लामा पुग्ने काम सुरु भईसकेको पनि प्रवक्ता शर्माले बताए ।

त्यसैगरी कांग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ गते विपी जयन्तिको अवसर पारेर सुभारम्भ हुनेछ । असोज १० गते सम्पन्न हुने दोस्रो चरणको जागरण अभियान ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा संचालन हुने पनि प्रवक्ता शर्माले बताए ।

हिमाल, पहाड, तराई–मधेश र प्रवासमा समेत संचाचलन हुने सो राष्ट्रिय जागरण अभियान अन्तरगतको तेस्रो चरणको कार्यक्रम आगामी पुस ७ गते सूरु भई पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिन सम्पन्न गर्ने कांग्रेसले जनाएको छ ।

प्रवक्ता शर्माका अनुसार तीनै चरणको जागरण अभियानमा पार्टीका केन्द्रिय नेताहरु परिचालन हुनेछन । नेपाली कांग्रेसले बुधबारबाट सुरु हुने तीन चरणको जागरण अभियानमा उत्साह र जाँगरका साथ सहभागी हुन पनि पार्टीका सबै नेता, कार्यकर्तालाई आह्वान गरेको छ ।

Logo