सरकारलाई मिनेन्द्र रिजालको गम्भीर आरोप

सरकारलाई मिनेन्द्र रिजालको गम्भीर आरोप


नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले विकास, पुर्वाधार तथा रोजगारीको सन्दर्भमा सरकारले आधारविहिन सपना बाँड्ने काम गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै उनँले नाराबाट नभई संसदमा राजनीतिक दलहरुसंग संवाद गरेर सहमतिको बाटोबाट मुलुकको विकास गर्न सुझाव दिएका छन् ।

सगरमाथा संवाद गर्ने सरकारलाई उनले दलहरुसंगको संवादलाई प्राथमिकतामा राख्न सुझाव दिएका हुन् । सिंचाई र तटबन्धको ठुला कुरा गरेर मात्रै कृषिमा आत्मनिर्भर हुन नसकिने भन्दै उनले योजनाबद्ध आधारशिला तयार पार्नुपर्नेमा जोड दिए ।

उनले गणतन्त्र र संघीयता कमजोर बनाउने बाटोमा ,लोकतन्त्रलाई बलियो बनाउने नभई आधारभुत संरचनालाई कमजोर बनाउने र नीतिगत प्रष्टता नराखी लामो फेयरिस्त राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएको टिप्पणी गरे ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भाषा, शैली र सम्बोधनलाई विगतकै राजतन्त्रको परम्परमा हिड्ने काम गरेको आरोप लगाएका छन् ।

उनले भाषागत र शैलीको कुरा मात्रै नभई प्रधानमन्त्रीले राष्ट्रपतिलाई विवादमा ल्याउने र आम जनताकाबीच शंका र आलोचनाको पात्र बनाउने काम गरेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।

उनले भने,“गणतन्त्रलाई यो सरकारले जोगाउँछ कि जोगाउदैन भनेर सांच्चै आंशका पैदा भएको छ । यो सरकार नेपालको सरकार हो ।

नेपालको संविधानले नेपालको कार्यकारीणी अधिकार नेपाल सरकारको नाममा प्रयोग हुने भनेर लेखेको छ । कसैको मेरो सरकारको नाममा होइन । जनतालाई आश्वस्त गर्नुहोस् । जनता विश्वास गर्दैनन् । ”

उनले सरकारले संघीयताको पक्षमा एउटा पनि ठोस प्रतिवद्धता जाहेर नगरेको टिप्पणी गरे । उनले लोकतन्त्रप्रति नै सरकार इमान्दार नभएको दाबी गरेका छन् । उनले भने,“संघीयतालाई कमजोर बनाउदा देश कमजोर हुन्छ । राष्ट्रियता कमजोर हुन्छ । यो गल्ति नगरोस् ।”

नीति तथा कार्यक्रममा उल्लेख गरिएको शब्द र भाषा प्रति पनि उनले आपत्ती जनाएका छन् । उनले भने, “लोकतन्त्रको शब्दसँग सरकारलाई घृणा हो कि के हो ? हरेक स्थानमा लोकतन्त्रको शब्द हटाएर कि त नयाँ विशेषण दिन्छ । कि त शब्द हटाएर अर्को लेखिन्छ । समाजवादको नया परिभाषा गर्ने अधिकार नीति कार्यक्रमलाई छैन । सरकारलाई छैन । सरकार होस् पुर्याओस । संविधानको संरचनालाई भाँच्ने, भत्काउने कमजोर बनाउने काममा हामी मुक दर्शक भएर बस्दैनौ । ”

सुन तस्करी र वित्तिय अपराध कानुनी दायरामा ल्याउने भनिएको भन्दै उनले सरकारलाई प्रश्न गरे,“३३ किलो सुन कहाँ गयो सरकार ? कानुनी दायरामा आएको हो भने नेपाली जनताले थाहा पाओस् । ”

महिलामाथि हिंसा हुन दिईने छैन भन्ने सरकारले अझै पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनले व्यवहारमा देखाउन चुनौति दिए । उनले भने,“अब महिला हिंसा हुन दिने छैन भन्ने मेरो सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउछ कि अहिले पनि भाग्ने बाटोमा हिँड्छ ? जिम्मेवारी होइन सरकारको ? ”

२३ जना सांसदले नीति तथा कार्यक्रममाथि दर्ता गराएको संयुक्त संसोधनकर्ताको तर्फबाट कांग्रेसका सांसद रिजाले आफ्नो धारणा राखेका हुन् ।

Skip This
Logo