सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा

सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा


नेपालगन्ज

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी, लेखनदास लगायत १८ जना पुर्पक्षका लागि थुनामा गएका छन् । बाँके जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उक्त प्रकरणसँग जोडिएका उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

प्रहरीका अनुसार नौ महिनाअघि नेपालगन्ज कारकाँदोस्थित सिक्टा सिँचाइ आयोजना परिसरभित्रको कित्ता नम्बर २१० को ५ कट्ठा १३ धुर जग्गा भूमाफिया खैरुल हसन अन्सारीले सरकारी कागज किर्ते गरी आमा हसरतुन निसा अन्सारीको नाममा जग्गाधनी स्रेस्ता कायम गराएका थिए । यस्तै नेपालगन्ज–३ स्थित वागेश्वरी मन्दिरनजिकको कित्ता नम्बर १४ को ५ कट्ठा १३ धुर सरकारी जग्गा सरकारी कागज किर्ते गरी अर्का भूमाफिया जुनेद अन्सारीकी सासू लाली मल्लको नाममा ८ महिनाअघि जग्गाधनी स्रेस्ता कायम गराइएको थियो ।

जुनेदको जग्गा सम्बन्धी विवादमै यसअघि हत्या भइसकेको छ । यसैगरी बर्दियाको साविक नेउलापुर गाविस ७ को ६ बिघा ३ कट्ठा १४ धुर सरकारी जग्गा पनि खैरुलले आफ्ना बाबुको नाममा दर्ता स्रेस्ता कायम गराई गत पुस १२ गते आमा हसरतुनको नाममा नामसारी गराए । स्थानीयका अनुसार चार लेन सडकले छोएको सिक्टा सिँचाइ आयोजनाको उक्त जग्गाको चलनचल्तीको मूल्य प्रतिकट्ठा करिब डेढ करोड रहेको छ । यस्तै नेपालगन्ज–३ मा रहेको सरकारी जग्गाको मूल्य प्रतिकट्ठा ५० लाखभन्दा माथि छ । नेउलापुरको जग्गाको चलनचल्तीको मूल्य प्रतिकट्ठा करिब १० लाख छ ।
नागरिकबाट

Logo