भूकम्प प्रभावितलाई सहुलियत ऋण दिन बैंकहरू सहमत

भूकम्प प्रभावितलाई सहुलियत ऋण दिन बैंकहरू सहमत


सिन्धुपाल्चोक

आर्थिक अभावले पुनर्निर्माण थाल्न नसकेका भूकम्प प्रभावितलाई सहुलियत ऋण उपलब्ध गराउन बैंक तथा वित्तिय संस्थाहरूले सहमति जनाएका छन् ।

सम्वाद समूहद्वारा बुधबार सदरमुकाममा आयोजित कार्यक्रममा उपस्थित जिल्लामा कार्यरत दर्जन बैंक शाखाका प्रबन्धकले प्रभावितलाई सहज ढंगले सहुलियत ब्याजदरको ऋण प्रवाह गर्न सहमति जनाएका हुन् । उनीहरूले प्रक्रिया पुर्याएर आउने प्रभावितलाई ऋणमा ढिलो नगराउने सामूहिक प्रतिबद्धतासमेत जनाएका छन् ।

‘बास्तविकपीडित चाहिँ हुनुपर्यो । त्यस्तालाई सहुलियत ऋण दिन आनाकानी गर्दैनौँ’, उनीहरूले भने । आवास अनुदानको पहिलो किस्ता पाएर पनि घर बनाउन नसकेका प्रभावितले बैंक तथा वित्तिय संस्थाबाट सामूहिक जमानी वा धितोमा दुई प्रतिशत ब्याज दरमा तीन लाख रुपैयाँसम्म सहुलियत ऋण पाउँछन् । तर बैंक तथा वित्तिय संस्थाहरूले विभिन्न उल्झन देखाएर सहुलियत ऋण दिन आनाकानी गर्दै आएका छन् ।

झण्डै ८८ हजार परिवार लाभग्राही रहेको जिल्लामा हालसम्म ५४ जनाले मात्र बैंक तथा वित्तिय संस्थाहरूबाट सहुलियत दरको सहित विभिन्न ऋण पाएका छन् । प्रभावितहरुको गुनासोपछि सम्वाद समूहहरूले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका जिल्लास्थित इकाइका अधिकारी, बैंक तथा वित्तिय संस्थाका शाखा प्रवन्धक र भूकम्पपीडितलाई एकै ठाउँमा राखेर छलफल गराएको छ ।

राष्ट्र बैंकले कर्जा सम्बन्धी कार्यविधिमा शर्तमाथि शर्त राखेकाले सहुलियत ऋण कार्यन्वयनमा जटिलता थपेको प्रबन्धकहरूले टिप्पणी गरे ।
नागरिकबाट

Logo