1
1
1

0 Shares

जसले अचार बेचेरै कमाउछन् मासिक डेढ लाख

1
1

सीप र जागर भयो भने सानो लगानीले स्वदेशमै मासिक रु एक लाखदेखि दुई लाखसम्म कमाउन सकिन्छ, भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएका छन् झापा अर्जुनधारा–९ का उद्यमी दिनानाथ शिवाकोटी ।

उनले आफ्नै घरमा ‘शिव बाबा’ अचार उद्योग सञ्चालन गरेर विभिन्न २० परिकारका उत्पादन बजारमा ल्याएका छन् । दश वर्षअघि रु पाँच लाख पूँजी लगानी गरेर साना तथा घरेलु व्यवसायको रुपमा शुरु गरिएको अचार उद्योगबाट उनले अहिले कम्तीमा मासिक रु एक लाख ५० हजार आम्दानी गरिरहेको बताए । उनको उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर हेटौँडा, पोखरा र काठमाडौँ बजारमासमेत बढ्दै गएको छ । उद्योगबाट वार्षिक १० हजार किलोग्राम विभिन्न ब्राण्डका अचार उत्पादन हुँदै आएको छ । 

अहिलेसम्म रु ५० लाख लगानी भइसकेको सो उद्योगमा आठ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अचार बनाउन धेरै लगानी नचाहिने र बजारमा सजिलै बिक्री हुने भएकाले महिला दिदीबहिनीले सीप सिकेर यस्ता आयमूलक व्यवसायमा लाग्नुपर्ने उनको सुझाव छ । अचार बनाउनका लागि स्थानीय क्षेत्रमा उत्पादन हुने कच्चा पदार्थलाई नै प्रयोग गरिँदै आएको हुँदा यसबाट कृषि क्षेत्रकै समग्र विकासमा सघाउ पुगिरहेको उनको धारणा छ । 

पाँचवर्ष अघिसम्म विर्तामोड देवीबस्तीमा भाडाको घरमा सञ्चालन हुँदै आएको उक्त अचार उद्योगलाई सञ्चालक शिवाकोटीले अहिले आफ्नै घरमा सार्नु भएको छ । 
उद्योगकै लागि भनेर ठूला ठूला दुई कोठे पक्की भवन उनले निर्माण गरेका छन् भने एउटा भवनमा अचार उत्पादन हुन्छ र अर्कोमा तालीम सञ्चालन हुने गरेको छ । उनको उद्योगमा अकबरे दाना, अकबरे पेस्ट, टिमुर–लसुनको पेस्ट, अकबरे–तामा, मिक्स आचार, कागती दाना, कागती पेस्ट, किबी, स्याऊ, मेथीको पेस्ट, करेला लगायतका विभिन्न फ्लेवरका अचार बन्ने गरेको छ । 

उद्योगका लागि आवश्यक अकबरे खुर्सानी, कागती, किबी, बासको तामा, टिमुर, लसुन, करेला लगायतका फलफूल झापा र इलामस्थित कृषकको खेतबारीबाटै ल्याइने गरिएको उहनी बताउछन् । 

उद्योग खोल्नु अघि उहनी इटहरीको प्रसिद्ध रिजाल टाँसी इण्डस्ट्रिज प्रालिलाई झापाबाट कच्चा पदार्थको रुपमा फलफूल पठाउने व्यापार गर्थे । त्यही क्रममा अचार बनाउने सीप सिक्न पाएपछि शिवाकोटीले रिजाल टाँसी उद्योगका मेनेजर केडी शर्मा र पर्चेज मेनेजर विष्णु न्यौपानेको प्रेरणाले अचार उद्योगमा होमिएको बताए । 

अर्जुनधारा नगरपालिकाका कृषि अधिकृत सालिकराम भट्टराईले शिवाकोटी झापाको अचार उद्यमी मात्र नभएर एउटा कुशल प्रशिक्षक भएको बताउछन् । शिवाकोटीले विगत पाँच वर्षदेखि पूर्वाञ्चलका विभिन्न जिल्लामा सय भन्दा बढी समूहलाई अचार बनाउने तालमि प्रदान गरिसकेका छन् । 

झापाको मेचीनगर, विर्तामोड, कनकाई, दमक लगायतका विभिन्न स्थानमा व्यावसायिक रुपमा अचार उद्योग सञ्चालनमा आइरहेका छन् । जसको श्रेय शिवाकोटीलाई नै जान्छ ।  हालसम्म हातले अचार उत्पादन गरिरहेको जनाउँदै अब नयाँ प्रविधि आइसकेको हुँदा मेसिनले अचार बनाउन थाल्ने हो भने थोरै अवधिमा धेरै उत्पादन गर्न सकिने उनी बताउछन् । उनले अर्जुनधारा नगरपालिकासँग अचार बनाउने हाइड्रोलिक मेसिन खरिदका लागि अनुदान माग गरिएको बताए ।

प्रकाशित: ९ भदौ २०७५ १५:२४ शनिबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी