९ हजार अस्थायी शिक्षक फेल (विस्तृतमा)

९ हजार अस्थायी शिक्षक फेल (विस्तृतमा)


काठमाडौं । शिक्षक सेवा आयोगले सबै तह अन्तर्गत अस्थायी शिक्षकको अन्तिम नतिजा प्रकाशित गरेको छ । गत असार २८ र २९ गते लिईएको प्रावि, निमावी र मावी गरी तिनै तहको अन्तिम नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।

कूल २२ हजार ७६ पदका लागि अस्थायी शिक्षकको परीक्षाको तिनै तहमा गरी २३ हजार २ सय ८६ आवेदन परेको थियो । तर परीक्षामा २२ हजार २ सय ३५ जना सहभागी भएका थिए । आयोगले तिनै तहमा गरी १४ हजार २ सय ७१ अस्थायी शिक्षक पास भएर स्थायीको लागि सिफारिस गरिएको आयोगले जनाएको छ ।

आयोगले प्रावि तहमा १६ हजार ५ सय ३२ पदको लागि दरखास्त आहवान गरेको थियो । जसमा १५ हजार ६ सय ९० जनाले परीक्षा दिएका थिए । जसमा १० हजार ८ सय ८३ जना पास भएर स्थायी शिक्षकको लागि सिफारिस गरिएको आयोगका प्रशासकीय प्रमुख सहसहिचव डा. तुलसीप्रसाद थपलियाले जानकारी दिए । प्रावि तहको परीक्षामा सहभागी मध्ये ४ हजार ८ सय ७ अस्थायी शिक्षक फेल भएका छन् । प्राविमा मात्रै ३० प्रतिशत अस्थायी शिक्षक फेल भएका हुन् ।

त्यस्तै निमावि तहमा ३ हजार २ सय ३४ शिक्षकको लागि ३ हजार ५ सय ७५ अस्थायी शिक्षकले प्रतिस्पर्धा गरेका थिए । जसमा १ हजार ९ सय ९ अस्थायी शिक्षक उत्तिण भएका छन् । १ हजार ६ सय ६६ अस्थायी शिक्षक फेल भएको आयोगले जनाएको छ । निमावीमा ४६ प्रतिशत अस्थायी शिक्षक फेल भएका छन् ।

२ हजार ३ सय १० पदको लागि मावि तहमा आवेदन खुलेको थियो । जसमा २ हजार ९ सय ७० अस्थायी शिक्षकले प्रतिस्पर्धा गरेका थिए । ति मध्ये १ हजार ४ सय ७९ अस्थायी शिक्षक पास भएको प्रशासकीय प्रमुख थपलियाको भनाई छ । मावि तहमा १ हजार ४ सय ९१ अस्थायी शिक्षक अनुउत्र्तिण भएका छन् । यो ५० प्रतिशतभन्दा बढी हो ।

तिनै तहमा गरी ९ हजार १५ अस्थायी शिक्षक फेल भएका छन् । पास भएका शिक्षकहरुलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) समक्ष सिफारिस गरिएको थपलियाले बताए । उनका अनुसार अब विकास केन्द्रले नियुक्ति पत्र दिएर उनीहरुलाई कार्यक्षेत्रमा खटाउनेछ ।

गोल्डेन ह्याण्डसेकः
अस्थायी परीक्षामा असफल भएका र परीक्षामा भाग नलिएका अस्थायी शिक्षकलाई सुविधासहित अवकाश दिईनेछ । त्यसको लागि शिक्षा ऐनको आठौं र नवौँ संशोधनको व्यवस्था अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रक्रिया थालेको छ । शिक्षा ऐन, २०२८ (नवौँ संशोधन) को दफा ११ (च) को उपदफा (९)) अनुसार शिक्षकको विवरण यकिन गरी सेवाको अवधि प्रमाणितसहित शिक्षक किताबखानामा सिफारिस गरिनेछ ।

केन्द्रको पत्राचारपछि ७५ वटै शिक्षा विकास तथा समन्वय एकाइले विवरण सङ्कलनका लागि सूचित गरेको छ । केन्द्रका निर्देशक नगेन्द्रराज रेग्मीले गत फागुन २८ गते सबै एकाइलाई पत्राचार गरेका थिए ।

विगतको जिल्ला शिक्षा कार्यालयको काम हाल एकाइले गर्दै आएको छ । ऐनको ११ (च) को उपदफा १० (१) बमोजिम शिक्षक सेवा आयोगले स्थायी पदपूर्तिका लागि आन्तरिक लिइएको परीक्षामा दरखास्त दिने अन्तिम मितिसम्मको अवधिलाई अधिकतम २० वर्ष मानी तोकिएको सुविधा दिइनेछ ।

Logo