नेकपाको प्रवास कमिटीको एकता टुंगियो, कसलाई कुन देश ?

नेकपाको प्रवास कमिटीको एकता टुंगियो, कसलाई कुन देश ?


काठमाडौँ । सत्तारुढ दल नेकपाको प्रवास कमिटी एकता टुंगिएको छ । पार्टी एकताका दस महिनापछि नेकपाले प्रवासमा बनाएका भ्रातृ सङ्गठनको एकताको प्रस्ताव तयार पारेको छ । सचिवालय वा स्थायी कमिटीले अनुमोदन गरेपछि एकता प्रक्रिया टुङ्गिनेछ ।

३६ देशमा रहेका प्रवासी सङ्गठनमध्ये ३४ देशमा नेतृत्वको भागबन्डासहित एकता प्रस्ताव तयार भएको नेकपाले जनाएको छ । तत्कालीन एमाले र माओवादीले पूर्वी एसिया, युरोप, अमेरिका, खाडी राष्ट्र, अस्ट्रेलिया र भारतलगायतका ३६ देशमा प्रवासी सङ्गठन बनाएका थिए ।

तत्कालीन एमालेको प्रवासी नेपाली मञ्च र माओवादीको नेपाली जनप्रगतिशील मञ्च एकीकरणबाट प्रवासी नेपाली एकता मञ्च बनाउने कार्यदलको प्रस्ताव छ । ३६ देशमा संयोजक र सचिवसहित ३५ सदस्यीय कमिटी राख्न प्रस्ताव गरिएको छ । कार्यदलले काम सुरु गर्नुलगत्तै २० देशबाट अध्यक्ष र सचिवका लागि सर्वसम्मत एकता प्रस्ताव आएको थियो ।

प्रवास कमिटी एकीकरण कार्यदलका सदस्य युवराज चौलागाईंले २० देशको नेतृत्वबारे सहमति आइसकेको र त्यसबाहेक १६ देशको निर्णय हुन बाँकी रहेको जानकारी दिए । पूर्वी एसिया, खाडी क्षेत्र लगायतका देशमा एकता टुंगो लागेको छ । भने ठूला देशमा कसले नेतृत्व लिने भन्ने विषयमा सहमति हुन सकेको छैन् ।

तत्कालिन एमालेले अमेरिका, क्यानडा, फिनल्यान्ड, पोर्चुगल, रसिया, चेक गणतन्त्र, इटली, फ्रान्स, पोल्यान्ड, भारत लगायतका १९ देशको नेतृत्व गर्नेछ । त्यस्तै तत्कालिन माओवादी केन्द्रले स्विजरल्यान्ड, आयरल्यान्ड, बेल्जियम, नेदरल्यान्ड, अस्ट्रिया, स्विडेन, डेनमार्क, जापान, संयुक्त अरब इमिरेट्स, साउदी अरब लगायत १५ देशको नेतृत्व गर्नेमा सहमति जुटेको चौलागाईंले जानकारी दिए ।

३४ देश मध्ये २ देशको नेतृत्व कसले गर्ने भन्नेमा विवाद कायम छ । अस्ट्रेलिया र स्पेनका संगठनको नेतृत्व कसले गर्ने भन्ने विवाद कायम रहेको देखिन्छ । यहाँ दुई पार्टीका नेताहरुले नेतृत्व दाबी गरिरहेका छन् । जसका कारण सहमति हुन नसकेको हो ।

Logo