आइपीएलमा सन्दीपमाथि म्याच फिक्सिङको हावादारी आरोप, यस्तो छ सत्य

आइपीएलमा सन्दीपमाथि म्याच फिक्सिङको हावादारी आरोप, यस्तो छ सत्य


काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटलबाट खेलिरहेका छन् । उनले आफ्नो पहिलो खेलमा एक विकेट समेत लिए । कोलकत्ताविरुद्धको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै १ विकेट लिएका थिए । उक्त खेलपछि यतिबेला सन्दीपलाई विवादमा ल्याउने प्रयास गरिएको छ ।

सन्दीपले बलिङ गरेको एउटा भिडियो क्लीप भारतीयहरुले सामाजिक सञ्जालमा भाइरल बनाएका हुन् । भिडियोमा सुनिने एउटा संवादलाई लिएर दिल्ली क्यापिटलका आलोचकहरुले म्याच फिक्सिङको आरोप लगाएका छन् । आईपीएलका पूर्व प्रमुख ललित मोदीले भिडियो ट्विटरमा सेयर गर्दै उक्त म्याचमा फिक्सिङ भएको दाबी गरेका छन् ।

उनले लेखेका छन्, ‘यो विश्वास गर्नै नसकिने कुरा भयो । म्याच फिक्सिङको उच्च रुप । बीसीसीआई कहिले सुध्रिन्छ ? लाजमर्दो के छ भने अधिकारीहरुले यसलाई वास्तै गरेका छैनन् ।’ तर, धेरैले उनलाई भ्रष्टाचारमा मुछिएर आईपीएल नेतृत्वबाट बाहिरिनुपर्दाको रिस पोखेको हुनसक्ने बताएका छन् ।

शनिबार राति दिल्ली क्यापिटल र कोलकता नाइट राइडरबीचको खेलमा खिचिएको भिडियोलाई भारतीयहरुले विवादित बनाएका हुन् । दिल्लीका स्पिनर सन्दीपले आफ्नो दोस्रो ओभरको चौंथो बल फ्याक्ने तयारीमा हुन्छन् । बल फ्याक्नुअघि कसैले बोलेको सुनिन्छ, ‘ये तो चौका है । (यो त चौका हो) ।’

यो आवाज दिल्लीका विकेटकिपर रिसभ पन्तको भएको थियो । त्यसलगत्तै सन्दीपले फ्याकेको बलमा रविन उथप्पाले चौका हान्छन् । यही संयोगलाई लिएर सन्दीपमाथि म्याच फिक्सिङको आरोप लगाएका हुन् ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले प्रष्टिकरण दिँदैं भिडियोलाई गलत व्याख्या गरिएको जनाएको छ । सामाजिक सञ्जालमा नचाहिँदो भ्रम फिँजाइएको भन्दै बीसीसीआईले त्यस्तो भ्रमप्रति नलाग्न सबैलाई अनुरोध गरेको छ । पर्याप्त जानकारीबिना युवा खेलाडीहरुलाई आरोप लगाउन दुर्भाग्यपूर्ण रहेको भन्दै केही मिडियाहरु हल्लाको पछि लागिरहेको बीसीसीआईको आरोप छ ।

Logo