द्रुतमार्गमा अब ९० वटा पुल, तीन सुरुङ हुने

द्रुतमार्गमा अब ९० वटा पुल, तीन सुरुङ हुने


काठमाडौँ

काठमाडौंलाई तराईसँग जोड्ने द्रुतमार्ग विस्तृत परियोजना प्रतिवेदन संशोधनसहित मन्त्रिपरिषदमा पेश हुने भएको छ ।

रक्षा मन्त्रालयले द्रुतमार्गको डीपीआर परिमार्जनसहित स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गर्ने तयारी गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मंगलबार परिमार्जनसहित यो डीपीआर रक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पेश गर्न सिफारिस गरेको हो ।

कोरियाली कम्पनी सुसुङले नेपाली सेनालाई गत माघमा बुझाएको डीपीआरको मस्यौदालाई अन्तिम रूप दिन फागुन १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको थियो । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासहित उपप्रधानमन्त्री तथा रक्षामन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा अन्य पदाधिकारीसँगको छलफलपछि प्रधानमन्त्री ओलीले डीपीआर स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गर्न निर्देशन दिएका थिए ।

प्रतिवेदन अनुसार सुरुङमार्गको संख्या बढ्ने भएको छ । पहिले एउटामात्रै सुरुङ मार्ग प्रस्ताव गरेकोमा अब भने तीन वटा निर्माण हुनेछ भने द्रुतमार्गमा निर्माण हुने पुलको उचाई पनि घट्ने भएको छ । यसअघि ६० देखि ७० मिटर पुलको उचाई प्रस्ताव गरिएकोमा सुसुङले भने अब बन्नेमा पुलको उचाई ४० मिटरमात्रै हुने प्रस्ताव गरेको छ ।

पुलको उचाई घट्ने भए पनि लम्बाई र लागत भने केही बढ्ने भएको छ । द्रुतमार्गमा ९० वटा पुल बन्ने छन् । यसअघि द्रुतमार्गमा ९९ वटा पुल निर्माणको प्रस्ताव गरिएको थियो । द्रुतमार्गको लम्बाई यसअघि ७६.२ किलोमिटर प्रस्तावित गरिएकोमा सुरुङ मार्गको संख्या बढेपछि कुल दूरी ७२.५ किलोमिटर मात्रै हुनेछ ।
कारोबारबाट

Logo