नेपाल र जापानबीच आज श्रम सम्झौता हुँदै, अप्रिलबाट जान पाउने

नेपाल र जापानबीच आज श्रम सम्झौता हुँदै, अप्रिलबाट जान पाउने


काठमाडौं । नेपाल र जापानबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी)) मा आज हस्तक्षर हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा आज मध्यान्ह हिमालयन होटलमा एमओसीमा हस्ताक्षर हुन लागिएको हो । यसका लागि जापानी टोली काठमाडौं आईसकेको छ ।

एमओसीको मस्यौदा दुबै देशको मन्त्रिपरिषद बैठकबाट पास भएपछि आज हस्ताक्षर गर्न लागिएको हो । श्रम तथा रोजगार मन्त्रालयले जापानसँग मार्च महिनाभित्रै एमओसीमा हस्ताक्षर गर्ने योजना बनाएको थियो । त्यसैअनुसार सहमति जुटेको मस्यौदालाई मन्त्रिपरिषदले पारित गरेर सचिव महेश दहाललाई सम्झौता गर्ने जिम्मेवारी दिएको थियो ।

यो समझदारीपछि नेपालबाट जापानमा कामदार पठाउने प्रक्रिया थालनी हुनेछ । जापानमा नेपाली कामदार पठाउन श्रम मन्त्रालय अन्तरगत छुट्टै इकाई खडा गरिनेछ । कामदार आपूर्तिका लागि सरकारीस्तरबाटै संयन्त्र खडा गरेर जापानमा दुबै देश सहमत भएका छन् । संयन्त्र खडा भएसँगै जापानमा कामदार पठाउने प्रक्रियामा म्यानपावर व्यवसायीलाई संलग्न गराईने छैन् ।

नेपाल र जापान सरकारले कोरियाको जस्तै छुट्टै संयन्त्र बनाएर कामदार छनोट गरी पठाउने व्यवस्था गर्न लागेको हो । दुबै पक्ष कामदार लैजाने विधि, प्रक्रिया, कामदारको सेवा, सुविधा, सुरक्षा लगायतका विषयमा टुंगोमा पुगेका छन् । जापान अन्तर्राष्ट्रिय मान्यताअनुरुप नेपाली कामदारको आपूर्ति र कानुनी व्यवहार गर्न सहमत भएको छ । नेपाली कामदारले पनि जापानकै नागरिक सरह सेवा सुविधा पाउनेछन् ।

अब अप्रिल महिनाबाटै कामदार लैजाने प्रक्रियाका लागि तयारी सुरु हुने श्रम मन्त्रालयले जनाएको छ । समझदारी भएपछि भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट प्रक्रियाको सुरु गरिने छ । समझदारीको पारित मस्यौदाअनुरुप अब जापानिज भाषा बोल्न र लेख्न सक्ने (जेएलपीटीको चौंथो स्तर) पास गर्नुपर्ने छ ।

Logo