अब कीर्ते नागरिकता बनाए ७ वर्ष जेल र ३ देखि ५ लाख जरिवाना

अब कीर्ते नागरिकता बनाए ७ वर्ष जेल र ३ देखि ५ लाख जरिवाना


कृष्णसिंह धामी 

काठमाडौं । नागरिकता ऐन २०६३ मा झुटो विवरण पेश गरी नागरिकता प्राप्त गरेमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाखरुपैयाँसम्म जरिबाना वा दुवै सजायको व्यवस्था छ ।

झुठो विवरण दिई नागरिकता प्राप्त गरे त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ । तर नेपालमा ४० लाख भन्दा बढी भारतीयले नेपाली नागरिकता लिएको अनुमान गरिएको छ । संसदको विभिन्न समितिहरुमा सांसदहरुले उक्त कुराको जोडदार रुपमा उठाउँदैं आएका छन् ।

अब भने कीर्ने नागरिकता बनाएमा भने कडा सजाय हुने भएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले कीर्ने गरी वा झुटो विवरण पेश गरेर नागरिकता लिनेलाई कडा सजाय हुने गरी नागरिकता विधेयकमा सहमति जुटाएको छ । उक्त सहमति अनुसार झुटो विवरण पेश गरी नागरिकता लिने विदेशीलाई पाँचदेखि सात वर्षसम्म कैद र तीन वर्षदेखि पाँचलाखसम्म जरिवाना हुनेछ ।

नेपाल नागरिकता ऐन २०६३ को दफा २१ को (१) संशोधनमा कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुटो विवरण दिएर नागरिकता लिएको प्रमाणित भए ७ वर्षसम्म सजाय हुने प्रावधान राख्ने सहमति भएको हो ।

त्यस्तै झुटो विवरणको आधारमा नागरिकता दिलाउन सहयोग गर्नेलाई एक वर्षदेखि तीन वर्षसम्म सजाय र एक लाखदेखि तीन लाख सम्म जरिवाना गर्ने व्यवस्थामा सहमति जुटेको हो । यसअघि झुटो विवरणका आधारमा बिदेशीलाई नागरिकता दिलाउन सिफारिस गर्नेलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजारसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था थियो ।

त्यस्तै कुनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई तीनदेखि पाँच वर्ष कैद र एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ । यसअघि ६ महिना महिनादेखि तीन वर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था थियो ।

यो वा त्यो भन्ने शब्द हटाईयो, अब दुवै सजायः
उक्त विधेयकमा समितिका सदस्यहरुबीच महत्वपूर्ण सहमति जुटेको हो । नागरिकता ऐनलाई एकदमै कडाई गर्दै नागरिकतासम्बन्धी कसूरमा कैद र जरिवाना दुबै सजाय गर्ने सहमति गरिएको छ । यसअघि कैद वा जरिवाना रहेकोमा त्यसलाई सच्याएर कैद र जरिवाना दुबै सजाय गर्ने गरी कानूनी व्यवस्था गर्न सहमति जुटाएको हो । यो सहमतिअनुसार समितिले प्रतिवेदन तयार पारी प्रतिनिधिसभामा पेश गर्नेछ ।

विदेशीलाई नागरिक दिलाए ५ वर्ष कैद:
यसअघि, कीर्ते गरी विदेशीलाई नागरिकता दिलाउन संलग्न भएका व्यक्तिलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था थियो । अब विदेशीलाई नागरिकता दिन सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्म कैद र एक लाखदेखि तीन लाखसम्म जरिवाना गरिने भएको छ ।

त्यस्तै स्वदेशीलाई नै कीर्ते गरी नागरिकता दिलाएमा डेढ वर्षसम्म कैदको व्यवस्था गर्ने सहमति जुटेको छ । ‘स्वदेशी, नेपाली नागरिकता पाउने व्यक्ति नै हो तर, कीर्ते गरी कसैले नागरिकता दिलाइदिएको छ भने त्यस्तो व्यक्तिलाई छ महिनादेखि डेढ वर्षसम्म कैद र पच्चिस हजारदेखि एक लाखसम्म जरिवाना गर्ने सहमति जुटेको हो ।

स्वघोषणामा पनि कसिलो व्यवस्था:
राज्य व्यवस्था समितिले बाबुको पहिचान नभएको स्वघोषणा गरी आमाले आफ्नो सन्तानलाई नागरिकता दिलाउन सक्ने गरी विधेयकमा यसअघि नै सहमति जुटाएको छ । नेपालमा बिहे गरेर व्यक्तिले विदेशी नागरिकता त्यागिसकेको वा विदेशीसँग बिहे गरेर विदेशको नागरिकता नलिएको भन्ने स्वघोषणा गरेर पनि नेपाली नागरिकता पाउन सकिने विधेयकमा व्यवस्था छ ।

यस्तो स्वघोषणा गरेको गल्ती ठहरिए तीन वर्षदेखि पाँच वर्षसम्म कैद र तीन लाखदेखि पाँच लाखसम्म जरिवाना गर्ने सहमति जुटेको छ । एकै ब्यक्तिले एक भन्दा बढी नागरिकता लिई प्रचलनमा ल्याउने ब्यक्तिलाई पनि तीनदेखि पाँच वर्ष कैद र एकदेखि तीन लाखसम्म जरिवाना गर्ने प्रावधान राख्ने सहमति जुटेको छ ।

Logo