‘मौसम खराबसँगै हतारो’ : हेलिकप्टर दुर्घटना

‘मौसम खराबसँगै हतारो’ : हेलिकप्टर दुर्घटना


ताप्लेजुङ

करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । हावाहुरीले मान्छेलाई नै उडाउला झैँ थियो ।

पाथीभरा दर्शनका लागि आएका धेरै तीर्थयात्री बीचैबाट फर्किएका थिए । महीनादिनदेखि नै सो क्षेत्र हिउँले ढाकेको थियो । यही मौसममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी लगायत सवार हेलिकप्टर पाथीभरा पुगेको थियो । तेह्रथुमबाटै काठमाडौँ जाने भनेर उडेको हेलिकप्टर उडेपछि मात्रै पाथीभरा जाने निर्णय भएको स्थानीय सुनाउँछन् ।

पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यलाई मन्त्री आउने कुरा केहीअघि मात्रै जानकारी आएको थियो । “जब हेलिकप्टर ओर्लियो त्यसपछि हिउँ र हुरि बतास चल्यो”, मन्दिरका पुजारीको भनाइ उद्धृत गदैं व्यवस्थापन समितिका अध्यक्ष तारा घिमिरेले भन्नुभयो । पूजा गरेर फर्कने बेला हिउँको चिसो छल्न मन्त्रीलगायतको टोली हेलिकप्टरमै बसेर मौसम खुल्ने प्रतीक्षामा चियासमेत पिउनु भएको थियो ।

“उहाँ हतारहतारमा हुनुहुन्थ्यो, फेरि मौसम थप बिग्रेला भन्ने डर पनि थियो, त्यसैले हतारिनु भएको हो”, घिमिरेले भन्नुभयो । स्वर्गद्वारीबाट आएका एक फलारी बाबालेसमेत मौसम खराब भएको उल्लेख गर्नुभएको घिमिरेले सुनाउनुभयो ।

केही समयको प्रतीक्षामा पाथीभराको ठीक पश्चिममा पर्ने ताप्लेजुङ क्षेत्र (सिधा देखिन्छ) केही मौसम खुलेको भन्ने सूचना आएपछि चालकले हेलिकप्टर उडाएका थिए । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भन्नुभयो, “मौसम चाहिँ खराब थियो तर दुर्घटना कसरी भयो भनेर भन्न सकिदैन ।”

हेलिकप्टर उडेको निकैपछि दुर्घटना भयो भन्ने सुन्दा विश्वास नै नलागेको पुजारी आचार्यले सुनाउनुभयो । यता सुकेटार विमानस्थलमा पनि मन्त्री चढेको हेलिकप्टर पाथीभरा आउँदै छ भन्ने जानकारी आएको थिएन । तर थाहा पाएपछि विमानस्थलबाटै फोन गरेर जानकारी लिइएको एक कर्मचारीले बताउनुभयो ।

दुर्घटनास्थल पाथीभरा मन्दिरको पश्चिम ताप्लेजुङ बजार पाखोको भिरमा पर्छ । मन्दिर क्षेत्र १२ हजार फिट उचाईमा पर्छ । तर दुर्घटना करीब १० हजार ३९८ फिटको उचाइमा भएको थियो । सुकेटार विमानस्थलबाट दुर्घटनास्थलको खोँच प्रष्ट देखिए पनि घटनास्थल आँखाले ठम्याउन सक्दैन । विमानस्थलबाट करीब छ / सात किलोमिटर दूरीमा पर्ने सिस्ने खोलाको शिरमा घटना घटेको जिल्लाको फुङ्लिङ नगरपालिका वडा नं १० का वडाध्यक्ष गमबहादुर लिम्बूले बताउनुभयो ।

घटनास्लथको माथि र दायाँबायाँ ढुङ्गो छ । तल्लो क्षेत्रमा थोरै भाग जमीन छ । घटनास्थलको वरिपरि भिर छ । जानका लागि बाटोसमेत राम्रो छैन । भएको बाटो हिउँले पुरेको छ । घटनास्थलबाट कच्ची सडकमा आइपुग्न दुई घण्टा लाग्छ । त्यसपछि एक घण्टाको सडकमार्फतबाट सुकेटार विमानस्थल आइपुग्ने स्थानीयको भनाइ छ । बीचमा सामान्य ओडार जस्तो स्थानमा हेलिकप्टर बजारिएको र त्यसपछि आगो लागेको स्थानीयको दाबी छ ।

उक्त दुर्घटनामा मन्त्री अधिकारी र अङ्गरक्षक सेनाका जमदार अर्जुनप्रसाद घिमिरेको शव पहिचान भएको छ । अन्य पाँच शव पहिचान गर्न सकिएको छैन । पाथीभराको थुम्कोबाट उड्नेक्रममा नियमित गति लिन नसक्दा त्यसैको सिधा तल भिरमा गएर ठोक्किएको हुनसक्ने घटनास्थलमा पुगेका एक उद्धारकर्मीले बताउनुभयो ।

तेह्रथुमको आठराईस्थित चुहानडाँडामा विमानस्थल निर्माणका लागि स्थलगत अवलोकन र अध्ययन गर्न पुग्नुभएका मन्त्री अधिकारीसहित उहाँका अङ्गरक्षक अर्जुनकुमार घिमिरे, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको उक्त दुर्घटनामा निधन भएको थियो । यसअघि ताप्लेजुङको घुन्सामा विसं २०६३ असोज ७ गते पनि विशिष्ट व्यक्ति सवार हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको थियो ।
रासस

Logo