विप्लवमाथी कारवाही गर्न यी सांसदहरुको माग

विप्लवमाथी कारवाही गर्न यी सांसदहरुको माग


काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले ललितपुरको नख्खुस्थित एनसेल प्रालि कार्यालयको गेटमा बम विष्फोटमा संलग्नलाई तत्काल पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरेका छन । मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद यशोदा गुरुङ सुवेदीले सो बम विष्फोटको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरिन् ।

उनले बम विष्फोटमा परी मृत्यु भएका सिंहप्रसाद गुरुङको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था र घाइते प्रतिक्षा खड्का र अनुषा डंगोलको उपचारको उचित व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराईन् । गत फागुन १० गते शुक्रबार राति एनसेल प्रालिको गेटमा बम विष्फोटमा परी गुरुङको ज्यान गएको थियो भने खड्का र डंगोल घाइते भएका थिए ।

त्यसैगरी सांसद यज्ञराज सुनुवारले बारामा जिप दुर्घटनामा परी निधन भएका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र एसपी बलराम पोखरेलको परिवारलाई पनि उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले सो जीप दुर्घटनाबारे अनेक आशंका उब्जिएको उल्लेख गर्दै छानविन समिति बनाएर सत्यतथ्य तत्काल बाहिर ल्याउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

त्यसैगरी सांसदहरुले माथिल्लो कर्णाली जलविद्युत आयोजना स्वदेशी लगानीमा सम्पन्न गर्ने गरी कामलाई अघि बढाउन पनि सरकारलाई सचेत गराएका छन ।

सांसद यज्ञबहादुर बोगटीले आवश्यक बजेटको व्यवस्था गर्ने जिम्मेवारी पाएको भारतीय कम्पनी जिएमआरले सो आयोजनाको कामलाई अघि बढाउन नसकेको उल्लेख गर्दै नेपाल सरकार आफैले स्वदेशी लगानीमै सो आयोजनाको काम सम्पन्न गर्ने कामलाई तत्काल अघि बढाउन माग गरे ।

सांसद मायादेवी न्यौपानेले केन्द्रिय कारगारमा रहेका कैदी बन्दीहरुले बुनेका लाखौं रुपैयाँ पर्ने कपडा अलपत्र अवस्थामा रहेकोे उल्लेख गर्दै त्यसलाई विक्री वितरण गर्ने व्यवस्था तत्काल गर्न पनि सरकारलाई सचेत गराईन् । सांसदहरुले नेपालगंज विश्वविद्यालय स्थापनाको कामलाई तीव्रताका साथ अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन ।

Skip This
Logo