विभिन्न दुर्घटनामा ४ जनाको मृत्यु

विभिन्न दुर्घटनामा ४ जनाको मृत्यु


दमौली

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डमा शनिबार दिउसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पोखराबाट सुनौली जाँदै गरेको ग १ ख ४७८० नं को यात्रुवाहक बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ३९ प ९५३८ नं को मोटरसाइकल व्यास नगरपालिका–१२ घाँसीकुवामा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गोरखा नगरपालिका–१४ बस्ने २१ वर्षीय माधव दराई र मोटरसाइकलमा सवार सोही ठाउँका १६ वर्षीय सुरज परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । उहाँका अनुसार दराईको दमौली अस्पतालमा र परियारको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा छन् ।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
सर्लाही

यहाँ शनिबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बहरथवा नगरपालिका–१६ गङ्गापुरमा ट्याक्टर पल्टिएर ब्याट्री सर्ट भई आगो लाग्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा हरिपुर नगरपालिका–१ का २५ वर्षीय राजेश महतो रहेको सर्लाहीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । शुक्रबार महतो आफैँले किनेर ल्याएको अन टेस्ट ट्याक्टर खेत जोत्न जाँदै गर्दा नालामा पल्टिएको थियो । पल्टिएको ट्याक्टरबाट तेल चुहिन गई ब्याट्रीमा पुगेको र ब्याट्री सर्ट भएर आगो लाग्दा महतो जलेर गम्भीर घाइते भएका थिए । घाइते महतोलाई उपचारका लागि चितवनको भरतपुर लाँदै गर्दा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बसले ठक्कर दिँदा बालकको मृत्यु

कावासोती

यता नवलपरासी पूर्व कावासोतीमा जन्ती बोकेको बसले ठक्कर दिँदा शनिबार दिउँसो एक बालकको मृत्यु भएको छ ।

कावासोती–२ मालपोत चोकमा ना ५ ख ८०४३ नं. को जन्ती बसले ठक्कर दिँदा कावासोतीका चार वर्षीय बालक सिजन गोतामेको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका बालक गोतामेको उपचारका क्रममा भरतपुर अस्पलातमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । बस पाल्पा रामपुरबाट विवाहसकी कावासोती आउँदै गरेको प्रहरीले जनाएको छ ।

घाइतेको उपचारमा खर्च अभाव
बलेवा

उता बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा गत मङ्गलबार भएको पिकअप भ्यान दुर्घटनाका घाइतेहरुको उपचारमा आर्थिक अभाव भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका घाइतेहरुको उपचार खर्च अभाव भएको स्थानीय जीवन पुनले जानकारी दिनुभयो ।

घाइते मध्ये गम्भीर अवस्थामा अति सघन कक्षमा उपचार गराइरहेका सङ्गम श्रीस र सम्झना पुनको उपचारका लागि लाखौँ रुपैयाँ खर्च हुने अस्पताल स्रोतले जनाएको छ । मध्यम परिवारका घाइतेका उपचारमा सहयोग पु¥याउनका लागि रकम सङ्कलन अभियान समेत शुरु भइसकेको छ ।

उनीहरुको उपचारमा सघाउने उद्देश्यले सहयोग सङ्कलन अभियान चलाइएको पुनले जानकारी दिए । सबै घाइतेको घरपरिवारबाट खर्च पु¥याउन सम्भव नभएका कारण सहयोग अभियान शुरु गरिएको हो । पिकअप भ्यानका चालक र बीमा मार्फत हुने उपचारका लागिसमेत आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि मात्रै उपचार खर्च पाउने भएकाले उनीहरुलाई उपचार खर्चमा अभाव भएको हो ।
रासस

Logo