विद्युतीय शवदाहगृहमा शवको चाप वढ्दै

विद्युतीय शवदाहगृहमा शवको चाप वढ्दै


काठमाडौँ

पशुपति क्षेत्र बिकास कोषमा रहेको विद्युतीय शवदाहगृहमा शवको चाप अत्यधिक बढेको छ । चाप बढेपछि भ्याईनभ्याई भएको छ । शवदाह गृहमा उपलब्ध मेसिनरी सामानका अभावका कारण त्यहाँ आएका सबै शव विद्युतीय शवदाहगृहमा दाहसंस्कार गर्न सकिएको छैन ।

शवदाहगृहका प्रशासकीय अधिकृत कुमार थापाले शव धेरै आउने भएकाले समस्या परेको बताउनुभयो । उहाँले दैनिक सरदर २५ देखि ३० वटा शव आउने बताउनुभयो । अधिकृत थापाले भन्नुभयो– ‘एउटा मात्र शवदाहगृहमा भएको मेसिनले भार थेग्न नसक्ने भएकाले शव आर्यघाटमा फर्काउन बाध्य छौँ ।’

पशुपति आर्यघाटमा दाहसंस्कार दुई प्रकार गर्ने गरिएको छ । एउटा विद्युतीय प्रक्रिया हो भने अर्को पुरानै प्रचलन अनुसार केही दाउराको प्रयोग गरेर दाहसंस्कार गर्ने गरिएको छ ।

थापाका अनुसार २०७२/७३ मा १ हजार ८ सय ५६ शव विद्युतीय प्रविधिमार्फत दाहसंस्कार गरिएको थियो । त्यस्तै २०७३/२०७४ मा ३ हजार ६ सय १५ र २०७४/७५ मा २ हजार २ सय ६७ को संख्यामा दाहसंस्कार भएका थिए । हाल दैनिक १५ वा १६ जनासम्मको विद्युतीय प्रविधिबाट दाहसंस्कार हुने गरेको छ ।

जसमा शव जलाउनका लागि १० वर्षमुनिकालाई २ हजार र अन्य समुहका मानिसको ४ हजारका दरले पैसा लाग्ने गर्दछ । तर सोही ठाउँमा दाउराबाट जलाउनका लागि भने प्रति व्यक्ति १२ हजारसम्म खर्च हुने गर्छ । हरेक वर्षको तथ्यांकलाई हेर्दा अहिले विद्युतीय प्रविधिमार्फत दाहसंस्कार गराउनेको संख्या बढ्दो छ । पशुपति विकास कोषले २०७२ माघ १० देखि विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याएको छ ।
नेपाल समाचारपत्रबाट

Logo